प्यारो साथीको सम्झनामा
मङ्सिर ६, २०७९ (Nov 22, 2022 - Tuesday)
“महाविर माइक्रो बस दुर्घटनामा पर्यो। अवस्था गम्भीर छ।” सधै झैँ क्याम्पसबाट घर फर्किने तरखर गर्दै गर्दा अकस्मात नेपालबाट दाजुले फोन गरेर भन्नु भयो। ईश्वरसंग उनको सु-स्वस्थको कामना गर्दै विस्तार खवर थाहा पाउन केहि समाचारका वेबसाइट खोले। कतै केहि देखिन। ६-७ घण्टा अघिसम्म हामी निर्वाचनको सम्भावित परिणाम, रास्ट्रिय स्वतन्त्र पार्टीको उदय तथा चितवनको क्षेत्र नम्वर १ को सम्भावित नतिजा बारेमा छलफल गर्दै थियौ।
यतिकैमा एउटा समाचार देखे। “चितवनमा माइक्रो दुर्घटना। एक जनाको मृत्यु।” कापिरहेको मनलाई समाल्दै लिंक क्लिक गरे। भित्र मृतकको नाम रहेनछ। उनि सकुसल नै होलान भन्ने आशा सहित सु-स्वस्थको कामना गरे ।
यतिकैमा फेसबुक भरि उनको फोटो रंगीन थाल्यो। फोटो मुन्तिर “हार्दिक श्रद्धाञ्जली”। आफैलाई समाल्न गार्हो भयो। के गर्ने कसो गर्ने पत्तो पाइन्। अकस्मात आइपर्ने क्षणहरु कसरी समाल्ने भन्ने थाहा नहुने रहिछ हाम्रो मन र दिमाखलाई। आखा अघि नै भरिसकेछ। मन भने उनीसंगका पुराना क्षणहरु टहल्न मै व्यस्त भयो।
महावीर विश्वकर्मासंग मेरो भेट एक छिमेकीको रुपमा सन् २०१५ तिर भएको थियो। उनको घर पूर्वी चितवन भन्ने थाहा पाउदा म उनीसंग नजिकिएको थिए। खासै अरुसंग बोल्न नखोज्ने मानिसको रुपमा उनि ममा परिचित थिए। उनि चर्चित पत्रकार भएको कुरा छिमेकी साथीबाट थाहा पाउदा र फेसबुकमा एक लाख भन्दा धेरैले पछाउने देख्दा म अचम्मित भएको थिए। पछि दाईबाट उनी चितवनको कालिका एफ. एम. मा काम गरेको र तेही बेलाबाट चर्चित भएको भन्ने सुन्दा चकित भएको थिए। उनीसंग सामिप्यता बढेसंगै हामीहरु स्थानीय, राजनीतिक, सामाजिक र कलाका विषयमा छलफल र वादविवाद गर्थ्यौ। ममा लेखन, राजनीति, सामाज तथा कलाको चेतलाई अलि फराकिलो पार्नमा यी छलफलको निकै ठुलो हात रहेको मेरो ठम्याई रहेको छ।
सामाजिक समस्यालाई मुक्तकसंग जोड्ने एउटा खुडकिलोका रुपमा आएको बहकिने मनको मुक्तक प्रतियोगिता हाम्रो छलफल कै परिणाम थियो।
उनि विचारमा स्पष्ट थिए। व्यवहारलाई विचारसंग एकरुपता राख्थे। कसैसंग पनि आफ्नो पहुचको गलत फाइदा लिन खोज्दैन थिए।
“भेदभाव भनेको मुख्यत ९ थरिको हुन्छ।”
उनि थप्दै जान्थे। “१. जात (बाहुन, क्षेत्री, बैस्य, शुद्र…), २. धर्म (हिन्दु, मुस्लिम, इशाई…), ३. वर्ण (कालो, गोरो…), ४. लिङ्ग (पुरुष, महिला, अल्पसंखेक…), ५. वर्ग (धनी, गरिव), ६. शारीरिक क्षमता (अपाङ्गता), ७. उमेर, ८. पढाई (पढेका, नपढेका, जान्ने, नजान्ने, विज्ञान/अन्य विषयको विद्यार्थी यस्तै) ९. भूगोल (तराई/पहाड, युरोप/एसिया) यस्तै।”
उनी कसैसंग पनि कुनै पनि हिसाबले विभेद गर्न हुदैन भन्नेमा सचेत थिए। यसको केहि उदाहरण भनेका खाना खाने होटलका मजदुरसंगको , संगै तेक्वान्दो खेल्ने ८/१० वर्षका केटाकेटीहरुसंगको, आफ्नो काम गर्ने अफिसका चौकीदारसंगको, आफु हिड्ने गाडीका चालक तथा सहचालाकहरु संगको साथी व्यवहार।
उनि भावुक थिए। हेटौडाबाट काठमाडौँ लगेर छोड्दे भनेर उनीसंगै पठाएको १० बर्से बालकलाई अहिले नै मजदुरीमा लाग्न दिनु हुदैन भनेर आफ्ना साथीहरुसंग पैसा तथा अन्य सहयोग मागेर पूर्ण होस्टेलको व्यवस्था सहित पढ्ने व्यवस्था मिलाइदिन्थे।
उनमा स्वदेश मै केहि गर्ने हुटहुटि थियो।
“विदेश नजाने?” भनी सोध्दा “विदेश मेरो विकल्पमा छैन।” भन्थे।
“पैसा चाहिन्छ हो जिन्दकीमा। हुदा खादाको जागिर छोडेर राजनीति राजनीति भन्नु भएको छ। पछि कोही विरामी पर्यो भने हाम्रो समाजले त पैसा बाहेक केहि चिन्दैन त।” म भन्थे।
“समाजको अन्याय अत्याचारलाई देखे नदेखे जस्तो गरेर साधारण जिन्दगी जिउन म सक्दिन। उनीहरुको समस्या देख्दा मैले जातको कारणले भोगेको दुख सम्झन्छु।” उनि तातिन्थे।
“जीवनको प्रत्योक क्षणमा मैले जातको कारणले गर्दा विभेद भोगेको छु। हामीले नगरे कसले गर्छ र यसको अन्त्यको लागि पहल।” उनि दृढ़ हुन्थे ।
उनी आफ्नो विचार परिस्कृत गर्न सधै तल्लिन हुन्थे। राजनीति, समाज, कला सम्बन्धित नेपाली तथा हिन्दी पुस्तकहरु खोजीखोजी पढ़थे। सो क्रममा केहि भ्रम सृजित भएमा आफ्ना बौद्दिकवृतमा यसबारेमा छलफल गर्थे। उनि आहुतीसंग धेरै पटक यस्ता छलफलमा व्यस्त भएको थाहा पाएको छु।
कला भनेको समाजको समस्या उजागर गर्ने एउटा राम्रो माध्यम हो भन्दै कविता, कथा, मुक्तक तथा छोटो फिल्मका माध्यमबाट आफ्ना विचारहरु प्रस्तुत गर्थे। बहकिने मन भन्ने प्रेम सम्बन्धित कार्यक्रम मार्फत देशभरका मुक्तक प्रेमीहरुसंग प्रेम अनि त्यससंग सम्बन्धित विचार निर्माणमा तल्लिन हुन्थे। पछिल्लो पटक उनले फिल्मको कथा तथा पटकथा लेखेर केहि निर्देशकहरुसंग भेट्दै छु भन्दै थिए।
प्रेमको मामलामा उनि अभागी थिए। अरुलाई प्रेमको सल्लाह दिने उनि आफ़्नै प्रेमलाई सफल बनाउन सकिरहेका थिएनन। क्याम्पस पढ्दाताका पहिलो बिछोड पछि प्राय एकल थिए उनि। रुकुम घटना पछि एकजना विचार मिल्ने युवतीसँग सुरु भएको अर्को प्रेम सम्वन्ध यहि दशैमा टुंगिएको भन्दै थिए।
“मैले विहे बारेमा हरेस त खाएको छैन तर पनि मैले हिडेको बाटोले मलाई परिवारिक सम्बन्धमा अल्झेर अरु सबै छोड्ने छुट छैन। कोही बाटो र मन मिल्ने भेटे भने सोच्नेछु तर तत्काल त्यस्तो केहि विचार छैन।” उनले भनेका थिए।
रुकुममा छ जना युवाहरुलाई अन्तरजातिय प्रेम गरेकै कारण ले गर्दा मारिएको घटनाले उनलाई अत्यन्तै विछिप्त बनायो र उनि आफ्ना सबै कुरालाई यतिकै छोडेर पूर्ण रुपले राजनीतिमा होमिन बाध्य भए। सामाजिक भेदभावलाई अन्त्य गर्ने दृढ शक्तिका साथ पछिल्लो पटक उनि वैज्ञानिक समाजवादी पार्टी मार्फत देशभरी राजनैतिक चेत जगाउने प्रयासमा तल्लिन थिए। “चुनाव पछि गर्ने भनेको बुटवलको कार्यक्रम स्थगित भयो। अब एक हप्ता पछि नेपालगंज जानु छ।” अघिल्लो दिन भन्दै थिए। उनको प्रयास बिचमै रोकिएको छ। उनको मृत्युसंगै समाजको विभेद अन्त गर्न रातदिन खटिरहने एक उर्जासिल युवाको अवसान भएको छ।
जन्मिनु र मर्नु प्रकृतिको एक चक्र हो। हामी सबै एक दिन मर्नु छदै छ। अल्पायु मै मृत्युवरण गरे पनि उनले हामी सबैलाई एक बाटो देखाएर गएका छन। चाकरीबाज नगर्ने , पैसालाई आफ्ना निर्णयहरुमा प्रमुख पक्ष नमान्ने र आफ्नो सिद्धान्त नछोड्ने उनको बानी अनुकरणीय लाग्छ मलाई। समाजमा विध्यमान अन्याय र आत्यचारको विरुद्दमा बोल्न उनले देखाएको बाटोले हामी सबैलाई उर्जा दिने छ भन्ने विश्वास लिएको छु।
अलविदा !!!