Traveler Diary: जुम्ला-रारा-मुगु
जेष्ठ २६(June 9, Saturday)— असार ४, २०७५ (June 18 । 2018, Monday)
रारा जाने अनि देश कै विकट भनिएको कर्णाली हेर्ने रहर पहिलै देखि नै थियो। पोहोर दाई भाउजु अरु साथीहरु संग जादा मास्टरको थेसिस मा बेस्त भएर जान मिलेन।अरु साथीहरु संग कैयौ पटक जानु पर्छ है तेता भनेर कुरा गरिराखिन्थ्यो तर जाने दिन भने कहिलै निस्किएको थिएन।
अन्तमा जाने सन्जोग भान्जा काठमाडौँ बाट जुम्ला (कार्य क्षेत्र) जाने बेला मिल्यो। उहासंगै जाने भए जुम्ला सम्म म पनि। अनि तेस पछि एक्लै रारा पुगेर फर्किने सोच बनाए। जुम्लामा 3G राम्रो चल्ने र सोलार भएकोले बत्ती को समस्या नहुने भनेर भान्जाले भन्नु भए पछि केहि समय जुम्ला बसेर काम गर्ने अनि घुम्न जाने तालिका बनाएर म निस्किए मध्य पश्चिम क्षेत्रको पहिलो भ्रमणमा।
शनिबार को दिन बिहान ८ बजे पुल्चोक बाट छुटेका हामी पहिलो दिन दाङको लमहीसम्म मात्र पुग्न सक्यौ।
दिन २: लमही — जुम्ला (२३४० मि.) गाडी यात्रा
बिहान उठेर फ्रेश भइ ७:१५ तिर लमही बाट हिडेका हामी करिब ९:१५ तिर कोहलपुर, बाके पुग्यौ। बाटो सिधा रहिछ। ८० km/hr पनि बिस्तारै हिडे जस्तो लागिराखेको थियो। त्यो भन्दा बढीमा हिडाउन नमिल्ने रहिछ गाडीको speed लकले गर्दा। केहि समय कोहलपुरको तरकारी तथा फलफुल मन्डी छिरी आवश्यक फलफुल र हरियो तरकारी किन्यौ। र हाम्रो यात्रा जारी राख्यौ ।
बाटोमा पर्ने भेरी बबई आयोजना नजिकै खाना खाई १२ बजे तिर सुर्खेत पुग्यौ। करिब एक घण्टा जति विरेन्द्रनगर ओरिपरि घुमेर जुम्ला तिर लाग्यौ।
एक लेनको घुमाउरो पिच बाटो रहेछ जुम्ला सम्मै। बाटोमा बेच्न राखिएको काफल, आरुबख्रा, केरा खादै हामी अघि बढीराख्यौ । टुनीबगर, दैलेख (१८:१५) मा पुगेर खाजा खायौ । आज जुम्ला पुग्न नसकिने भयो भन्दै थिए चालक दाजुले।हामी कालिकोटको सदरमुकाम मान्मा मा बस्ने सोचमा थियौ। करिब ९:३० तिर मान्मा पुग्यौ र खाना खायौ। हामीले खाना खाएको घर त्यहाँका मेयरको रहिछ।२/३ दिन पछि फेसबुकमा कुरा गर्दा त्यो घर हाम्रै सिभील इन्जिनियरिंको साथी कृष्ण पाण्डे “कालिकोटे” को रहिछ।
खाना खाए पछि चालक दाजुलाई के भएछ कुन्नी आजै जुम्ला जाउ भन्न थाले । उनले राती गाडी चलाउन समस्या हुदैन भनेपछि हामी जुम्ला तिर लाग्यौ। सारै डरलाग्दो बाटो छ भन्दै हुनुहुन्थ्यो भान्जाले।कालिकोट देखि जुम्लासम्म को सडक बनाउन पिलीमा बसेको सैनिक शिविरमा माओवादीले आक्रमण गर्दा (२०६२ साउन २३) दोहोरो भिडन्तमा करिब १०३ जना मारिएका थिए । विभिन्न अवरोध बीच बनेको यो सडक जादा रात परेपनि मिले फर्किने बेला हेर्ने भाका राखे। रातको करिब १२:४५ बजे तिर जुम्ला पुग्यौ र सुत्यौ।
दिन ३, ४: जुम्ला, काम गर्ने दिन
२ दिन को निरन्तर यात्राले जिउ थाकेको थियो।आराम गर्दै अलिअलि काम गरेर २ दिन बिताए। राम्रो चल्ने रहिछ जुम्लामा 3G। २ दिन बिहान बेलुका जुम्लाको सदरमुकाम घुमे।
जुम्ला बजारको ३ ओटा नाम रहिछ।ऐतिहासिक अर्थमा चौधान, सेनाको १०० तोप भएको दलको हिसाबले खलंगा र स्थानीय एकाइका रुपमा छिनासिम। जुम्ला बजारमा २ ओटा मन्दिर रहेछन। चन्दननाथ र भैरवनाथ। कश्मिरबाट आएका दुई योगीलाई समर्पित गरि बनाइएका। जुम्ला बजार कर्णाली अंचलको प्रशाशनिक केन्द्र भए पनि व्यापारिक चहलपहल खासै देखिदैन थियो। बजारको एउटा कुनामा बन्दिगृह थियो। उत्तर तर्फको डाडामा चैत्य बनाउने काम करिब अन्तिम तिर पुगेको देखिन्थ्यो। जुम्ला घुम्दै गर्दा खलंगामा हमलामा राधा पौडेल ले वर्णन गरेको माओवादीको हमला झल्झली सम्झिए।
जुम्लामा पाइने प्रमुख बालीमा जौ, गहु, फापर र आलु रहेछ। साथै भटमास, सिमि, बोडी, सस्र्यू र लट्टे पनि उव्जनी हुने रहेछ। जुम्ला र यसको आसपासमा रहेको सिंजा उपत्यका मा फल्ने धान पहिलो पल्ट योगी चन्दननाथले पाच शताब्दी अघि कश्मिर बाट ल्याइ स्थनिए मानिसहरुलाई तालिम दिएर लगाएको किम्बदन्ती रहेछ।*
जुम्ला बजारको चोकमा कोशे ढुंगाको खम्बा बारेको ऐतिहासिक महत्तो पछि मात्र थाहा भयो मलाई। कोशेढुंगाको खम्बा “श्री हनुमानढोका देखि कोश १६९।” लेखिएको छ रे। यसको अर्थ जुम्लाबाट काठमाडौँ सम्मको दुरी करिब ५०० कि मि भन्ने हो रे। त्यहि बाटोबाट प्रधानमन्त्रिको भण्डार भर्न धान पठाउने चलन रहिछ।*
जुम्लाको दोश्रो दिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जुम्लामा निर्माण गरिएका स्याउ चिस्यान केन्द्र, स्याउ बेर्ना उमार्ने ठाउँ तथा अन्य कामहरु हेर्ने मौका मिल्यो।
जुम्लामा धेरै जसो पुरुषहरु घर बाहिर व्यापार, भेडी गोठमा वेस्त हुने र महिलाहरुले बालीनाली र बाल बच्चाहरुको हेरचाहार गर्ने बताउदै थिइन् एक बुढी आमा। ढलहरुको उचित व्यवस्थापन नहुदा झिंगाको अलि धेरै समस्या देखिन्थ्यो।
एअरपोर्टमा अस्ति भर्खर दुर्घटना भएको यतिको जहाज रहेछ। टायर पंचट भएर अगाडिको चोसो ठोकिएको रहिछ।
दिन ५: रारा (२९८० मि.) जाने दिन (जुम्ला — बुलबुले )
सुरुमा जुम्ला बाट एक्लै हिडेर रारा जाने सोच थियो। पछि बाटोको बारेमा स्थानीयसंग बुज्दा बाटोमा खासै घरहरु नभएको भनेर जानकारी पाए। म्याप हेर्दा नि राम्रो बाटो देखिन। जंगल कतिको छ भनेर सोध्दा कतै कतै घना नै रहेको जवाफ पाए। अनि जंगली जनावनको बारेमा सोध्दा आउन सक्ने भन्ने थाहा पाए पछी केहि हच्किएको थिए। जंगली जनावर देखि धेरै नै डर लाग्ने भएकोले। भान्जा ले संगै जान १ जना दाजुलाई भनिदिनु भयो। लोकलसंग जादा बाटोमा देखिने नया नया फल, फुल, बिरुवा तथा स्थानीय जीवनपद्दति, इतिहास आदिको बारेमा सोध्दै जान पाइने हुदा रमाइलो नै हुन्थ्यो भन्ने मेरो सोचाई थियो। हल्का कपडा अनि बाटोमा खाने भनेर खाजा तथा ३/४ किलो जति आप बोकेर हिड्यौ हामी। सिधै जुम्ला बाट डाँफेलेक (लगभग तीन घण्टाको हिडाइ) हुदै खालीचौर (डाँफेलेक बाट लगभग एक घण्टाको हिडाई) पुग्ने सोच थियो। पछि म संग जाने दाईले यहाँबाट हिड्दा अलि माथि ठाडो उकालो छ। खाली चौरसम्म खाजा, पानी खाने ठाउँ पनि छैन। गाडीले खालीचौरसम्म पुर्याइदिए उकालो काटिन्थ्यो अनि हिड्न पनि सजिलो हुन्थ्यो भनेर भनेपछि खालीचौर सम्म गाडीमा गयौ (जुम्ला -एयरपोर्ट -राजीकोर्ट -पुथु चौतारा -पटमारा -खालीचौर)। मलाई त जता बाट गए नि नँया ठाउँ थियो । दाजुले अझै पर सम्म गाडी मा जाने भन्दै हुनुहुन्थ्यो।मलाई त अघिको पाटन राम्रो लागेर यहिबाट हिडौ भनेर खाजा खाई हिड्न थाल्यो।
नँया नँया फूलहरु अनि हरियाली हेर्दै हिड्न थाल्यो। बाटोमा स्थानीय दुई महिलाहरु चुरोट खादै बस्नु भएको थियो। चुरोट ले त हानी गर्छ, बिरामी भइन्छ नि भनेर भन्दा बुढोले छिटै सुख पाउछ आफुलाई केहि भै हाल्यो भनेर हास्दै भन्दै हुनुहुन्थ्यो। अहिले बुढोले पिट्ने अनि सारै दुख दिने भएकोले धेरै चुरोट खान थालेको बताउनु भयो। बाटोमा गाउ, जंगल, खोला, खाली चौर पार गर्दै हिडिरहेउ। बाटामा देखिने धेरै जसो घरमा ताला लागेका थिए। दिउसो सबै काममा गएर हो भन्दै थिए दाई ले। (निउर - काब्रा — चौथ — बुलबुले)
बाटोमा धेरै जसो बुढा थर भएका मानिसहरु भेटिए। बुढा थर भएकाहरु प्राय मतवाली छेत्री रहेछन। उनीहरु छेत्री हुन् तर जनै लगाउदैनं। धामीको माध्यम बाट मस्टा नामक स्थानिय धर्म अपनाउछन तर उच्च जातिका हिन्दुहरु विपरित रक्सि पिउछन। मतवाली शब्द मद् (रक्सी) बाट आएको हो तर यसको शाब्दिक अर्थ रक्सी खान छुट भएको बुझियो।*

बेलुका ४ बजेतिर बुलबुले पुग्यौ। दाईले चिन्नु भएको एउटा होटेल रहिछ।तेही झोला राखेर fresh भई एक छिन आराम गर्यौ। होटेल वाला भाई यतिकै बसिराखेको रहिछन। उनीसंग कुरा गर्न थाले। अहिले १० कक्षा मा पढ्ने उनि दैनिक ४ घण्टा हिड्दै स्कुल जाने र आउने रहिछन। उनीसंग बुलबुले ओरिपरि के के छन् ठाउँ भनेर जिज्ञासा राख्दा अलि माथि पाटन रहेको बताए। एक्लै जाने जागर थिएन। अनि उनलाई नै अनुरोध गरे। पछि संगै गयौ। उनीसंग स्थनिय जीवन यापन, उनको लक्ष्य, अनि परिवारको बारेमा कुरा गरे।

माओवादी द्वन्दमा परिवारको एक सदस्य परेको तर आफुले चाई खासै केहि थाहा नपाएको भन्दै थिए भाई ले। एक दुइ चोटी यार्सा टिप्न गएको बताउने भाई अहिले पढाई ले गर्दा नगएको भन्दै थिए। पहिले पहिले ओरिपरि टन्नै डाँफे पाइने र अहिले कम देखिन थालेको बताए। दस पछिको भविष्य बारेमा सोध्दा जुम्ला अथवा नेपालगंज गएर पढ्ने सोच भएको बताए। उनीसंग यस्तै कुरा गर्दै ओरिपरि घुमी बेलुका खाना खाएर सुत्यौ।
दिन ६ : बुलबुले — रारा
करिब ५:३० बजे उठेर हामी बुलबुले बाट आर्मी चेक पोइन्ट हुदै गाडीको बाटो छोडेर जंगल तिर लाग्यौ। केहि बेरको हिडाई पछि ठुला ठुला पाटन देखिन थाले। नजिकै उडिरहेका र पर चरिरहेका डाफेहरु क्यामरा ले कैद गर्न नसक्दा मनमा चुकचुक लाग्यो। मैले अहिले सम्म देखेको ठुलो पाटन आखा अघि देख्दै गर्दा मनको भावनात्मक संवेग समाल्न गार्हो हुने रहेछ । पाटन मा हिड्दै गर्दा सुनिएको अलि पर एक भेडी गोठाला ले बजाएको मुरली मन मत्र मुग्ध पार्ने खालको थियो। साच्चै नै अद्भुत क्षण थियो।


बुलबुले बाट रारा सम्म खाने पानी को कुनै श्रोत नभएको जानकारी हिजो होटेलमा थाहा पाएको थिए। आफुले बोकेको पानी रारा सम्मलाई जोगाइराख्नु पर्ने बाध्यता ले गर्दा मन हुदा हुदै पनि पाटनहरुमा धेरै समय अलमलिने छुट थिएन। केहि बेरको हिडाई पछि राराको पहिले दृश्य देखियो।सल्लाको घना जंगल बिचमा निकै नै शान्त र विशाल रारा थियो। रंगिन र जादु मई रारालाई आखा अघि देख्दा अहिलेसम्मका सम्पूर्ण दुख भागेको महसुस भैरहेको थियो। टाकुरा बाट केहि समय मनमोहक र सुन्दर रारा अवलोकन गरेपछि रारा तिरको ओरालो यात्रामा सुरु गर्यौ। करिव १ बजे तिर हामी रारा पुग्यौ।सुन्दर र विशाल रारा लाई आखा अघि देख्दा रारा महेन्द ले लेखेको कविता को याद आयो।
‘सुन्दरताको भण्डार सारा
के खनाया यसै रारामा
रारा की अप्सरा ! –महेन्द्र शाह ।’
हामी होटेल पुग्दा करिब २ बजेको थियो। खाना बनाउ न लगाएर केहि बेर घुम्यौ। झिंगा ज्यादै धेरै। खाना खान पनि राम्ररी दिएन झिंगाले। नजिकै घोडा बाध्ने गरेकोले धेरै झिंगा आएको बताउदै थिए होटलका स्टाफहरुले। रारा जस्तो महत्तोपुर्ण ठाउँमा रहेको होटेलको हेलचेक्राई मलाई चित्त बुझेन।
खाना खाएपछि रारा नजिक गइ दिन बिताए। स्थानीय बासिन्दाका अनुसार राराको पानी कहिले वैजनी त कहिले नीलो एवं सूर्योदय र सूर्यास्तका समयमा सूर्यकिरणले गर्दा सुवर्णमय देखिन्छ रे। सफा र शान्त बिहानीको पानीमा गर्लङ्ग देखिने पहाडको उल्टा आकृति अपराह्नको हल्का हावाले बिस्तारै बिस्तारै ल्याएको छाल बाट खलबलिन गइ ढलपल ढलपल भएको पानीमा सजिव र हिडिरहेको जस्तो देखिन्थ्यो। बढ्दो हावाको वेगमा आउने छालले पानीलाई अपारदर्शी बनाई पहाडका छायाहरू विलिन बनाई दिन्थ्यो। पहाडको प्रतिबिम्ब र माथि आकाशमा आपसमा खेल्ने बादल बाहेक सल्लाको हरियाली ओढेका पहाडहरु र ति भन्दा पर फुर्सो रङका डाँडाहरुका पृष्ठभूमिमा तालको निलो पानीले यस ठाउको शान्ति र सुन्दरता बढाएको थियो।*
रारा को दृश्य मुर्मा टप बाट अण्डाकार ताल र यसको पानी निकास हुने खोलो सहित उत्तर तर्फका हिमालका छायाहरुले अझ निपूर्ण सजिव दृश देख्न पाइञ्छ भन्दै थियो मरो साथीले। हामी लेकबाटै झरेकोले उस्तै भएको र तेहबाट केहि नया नदेखिने भनर दाईले जाने प्रसन्नता नदेखाए पछि भोलि बिहान सिधै गमगढी जाने सोच बनायौ ।


दिन ७ — रारा — गमगढी
बिहान ७ बजे डुंगा चड्ने भनेको थिए तर मानिसको न्युनतम संख्या नपुगेपछि चालक नभएको कारण देखाई डुंगा चलाउन मानेनन्। अनि हामी लागियो गमगढी तिर। १० बजे तिर गमगढी पुग्यौ । अन्तिम गाडी १० बजे छुट्ने रहिछ। आज जादा गमगढी घुम्न नपाइने भए पछि अर्को दिन मात्र जाने सोच गरि गमगढी बसियो। दिउसभरि आराम गरि बेलुका गमगढी बजार घुम्न निस्किए। नया सडक बनेपछि पुरानो बजारको चहल पहल विस्तारै नया बजारतिर सरेको जानकारी गराए स्थानीयले। हुम्ला तिर र मुगुको गाउ गाउमा गमगढी बाटै समान लैजाने भएर होला मान्छे र खच्चडहरुको चहल पहल अलि धेरै थियो बजारमा।


स्थानीयहरुले नेपालगंज र सुर्खेतबाट घरका निर्माण सामग्री ढुवानी गरि घर बनाउने कुराले केहि अचम्मित भए म। पक्कि घर हुनेहरु साहु महाजन र सामान्य घर हुनेहरु श्रम जीवि भएको भान गरे मैले। घर एउटा वर्गको चिनारी जस्तो देखिन गएको थियो।
दिन ८: गमगढी -जुम्ला
गमगढीबाट बिहान ७ बजेको पहिलो गाडी चडी जुम्ला तर्फ़ लाग्यौ। चड्ने बेला सिंजा मा एकछिन रोकिदिने सर्तमा मनाए पनि बीच बाटोमा धेरै ठाउमा रोक्दै अघि बढेकोले गर्दा समय खासै नभएको भान गरि रोक्न भनिन। भनेको भए पनि मान्थे जस्तो लागेको थिएन। साथमा रहेका यार्सा गुम्बा टिपी फर्किएका स्थानीयसंग यार्सा टिप्दाको कहानी सुन्दै फर्किए। ५००० मिटर भन्दा अग्ला पहाडहरुमा करिब एक महिना बसेर यार्सा संकलन गरि फर्केका थिए उनीहरु। अनुहार घामले डढेर कालो भनेको थियो। कतै कतै फुटेको पनि। यार्सा संकलकहरु बीच लुटपाटको घटना पनि टन्नै हुने गरेकोले आ-आफ्नो समूह संगै बस्ने गरेको सुनाए। कोइ समूह निकुञ्जको अनुमति बेगर पछि सम्म बस्ने गरेको घटना पनि सुनाए। कोहि कोहि स्थानीयहरुलाई पनि लेक लाग्दो रहिछ। अनि केहि अप्रिय घटनाको बारेमा समेत जानकारी गराए। एक ओटा यार्सा लाई करिब ५०० मा बेच्ने गर्दा रहिछन। हामी हिड्दै गर्दा गाडीले कहिले एउटा छेउ पुराउथियो त कहिले अर्को। एक दुई चोटी धन्दै टाउको माथि गाडीमा ठोकिएको थियो। अर्को गाडीलाई साइड दिदा डर नै लाग्ने गरि भिर छेउ लैजान्थे driver ले। जिन्दकिमा अर्को चोटी हिड्न नपरोस भन्ने खालको यात्रा थियो यो। सब भगवान भरोसा जस्तो लाग्ने। कच्ची बाटोको जुम्ला सम्म को यात्रा।
हामी जुम्ला सदरमुकाम पुग्दा करिब ६ बजी सकेको थियो। कोठा गइ आराम गर्यौ।
दिन ९ — जुम्ला मै आराम
यो हप्ताको केहि बाकी काम सकेर बेलुका तिर कर्णाली प्राविधिक शिक्षालय र तातोपानी तिर घुम्यौ। KTS ले गर्दा धेरै जसो स्थानीयहरु प्राविधिक काममा संलग्न रहेछन। तातोपानी मा भएको फोहोर देख्दा मनमा खिन्नता उब्जेर आयो। हामीलाई सफा राख्न त केहि आउदैन जस्तो।

दिन १० — जुम्ला-नेपालगंज /नेपालगंज-चितवन
बिहान ९ बजेको उडान भनेर भने पनि जहाज उड्दा करिब १२ बजेको थियो। जहाज न उडे सम्म आज जान पाइञ्छ कि नै भन्ने थाहा नहुने कथा सुनाउदै थिए स्थनिएले। सिमित उडान र धेरै राजनीतिक तथा व्यापारिक शक्तिको चलखेल हुने कारणले गर्दा सामान्य जनतालाई जहाजको टिकट पाउनै मुस्किल रहिछ। मैले पनि भान्जाको लिङ्क लगाएर बल्ल बल्ल पाएको थिए टिकेट।
१ बजे तिर नेपालगंज झरे पछि तेहाको गर्मिले रन्थनिने बनायो।जेष्ठ महिना झल्को दिने खालको थियो गर्मि पनि। मेरो एक दुई दिन नेपालगंज र बर्दिया रास्ट्रिय निकुञ्ज घुम्ने तालिका हापेर सिधै घर जान बसपार्क तिर लागे । ४:३० को अन्तिम गाडी रहिछ बिरगंज जाने।टिकट काटेर बाकी समय बागेश्वरी मन्दिर तिर बिताए। अनि बेलुका घर तिर लागे।
दिन ११ — चितवन घरमा आराम (Monday)
दिन १२ — चितवन — काठमाडौँ (Tuesday)
सुदिपले बुधबार टिकाटालो भनेकोले र चितवनको गर्मि खप्न नसकेकोले सोमबार नै हिडे काठमाडौँ।
समग्रमा भन्नु पर्दा रमाइलो भयो अहिलेको रारा बसाई। भान्जा जुम्लामा भएको मौकामा गरेको यस यात्राले धेरै अघि देखि समाचारमा पढिरहेको कर्णालीको जीवनयापन र प्राकृतिक सम्पदाहरुको सानो झल्को अवलोकन गर्ने मौका मिल्यो। पहिलो चोटी पाटनहरु देख्दा यतै 3G चल्ने ठाउमा बसेर काम गर्ने (remote work) गरि ३-४ महिना बस्न पाए कस्तो हुन्थ्यो होला भन्ने सोच पनि आएको थियो। आशा छ भविष्यमा मेरो इच्छा पुरा हुनेछ। यो यात्राले कर्णालीलाई अझै राम्ररी बुझ्ने इच्छा बढेर गएको छ।
यहाँ सम्म पढ्दा तपाईको मनमा केहि जिज्ञासा अथवा सुझाव भए Response मा गएर बाढ्नु होला।
source* मैले देखेको नेपाल (हर्क गुरुङ)