Narayan Kandel
17 min readOct 2, 2019

Shey Phoksundo & Four Lakes Trek — 2076

Shey Phoksundo Lake

२०७६ असोज ४ देखि १२ (Sep 21 - Sep 29) को फोक्सुण्डो तालको भ्रमण। कहिले के गरियो कहाँ, कहाँ गइयो? भन्ने बारेमा यो लेख केन्द्रित छ।

dolpa map

मैले Open Street Map मा जाने ठाउहरुमा मार्कर राखेर जाने ठाउँहरु चिनो लगाए र जाने दिन कुरेर बसे। यो यात्रामा अनिश भाई, उसको साथी सोहेल र म सहितको तीन जनाको समूह बन्यो।

दिन १: काठमाडौँ ➡️ नेपालगंज (✈️✈️)

पुग्मो गाउ जादै गर्दा

डोल्पाको लागि नेपालगंजबाट बिहानै मात्र जहाज उड्छ भनेपछि हामी साझ ४ बजेको यति विमानको उडान मार्फत नेपालगंज गएर बस्यौ। नेपालगंज बस पार्कबाट राझा airport ४-५ कि मि टाढा रहेछ। airport छेउछाउ होटेलहरु रहेछन बस्नको लागि। टाढा बस्दा बिहान आउन गार्हो होला कि भनेर नजिकै बस्यौ।

दिन २: नेपालगंज ➡️ डोल्पा को उडान खराब मौसमका कारण रद्द भएकोले बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली को पुल ओरिपरि घुमेर दिन बिताइयो।

करिव २-३ हप्ता अघि टिकट काट्दा दिनको पहिलो flight मा भनेर काटेको ticket दोस्रोमा सरेछ। विदेशी यात्रुको $180(?) र नेपाली यात्रुको रु. ५३०० भएकोले विदेशी यात्रुलाई पहिलो प्राथमिकता पर्ने भएकोले हो कि। ६ बजेको पहिलो flight भनेर विमानस्थल आए पछि हाम्रो यात्रा दोस्रो flight मा सरेको जानकारी पायौ । मौसमको खराबीले गर्दा ६ बजेको flight करिब ९ बजे उड्यो। १०:३० बजे दोस्रो flight नहुने जानकारी पाए पछि लिएको boarding pass गोजीमै राखेर हामी विमानस्थलबाट होटेल तर्फ निस्कियौ। डोल्पामा ११ बजे पछि धेरै हावा चल्ने हुदा नेपालगंजबाट ११ बजे पछि प्लने नउड़ने रहेछन। मौसमले साथ दिएको खण्डमा सबै उडान बिहानै हुने रहिछ।

बाहिर धुम्म मौसममा सिमसिमे पानी परिराखेको थियो। काठमाडौँ तथा देशको विभिन्न भागमा करिब २-३ हप्ता अघिबाट पानी परिराख्दा trek cancelled हुने हो कि भन्ने दुबिदा थियो। यो दुबिदा करिब २-३ दिन देखिको सफा मौसमले गर्दा हटेको थियो। तर बिहान देखिको नेपालगंजको धुम्म मौसमले पुरानो दुबिदालाई सतहमा ल्याउने काम गर्यो।

चार ताल जादै गर्दा

होटेलमा गएर ब्याग राख्यौ। अब दिउस भरी के गर्ने भनेर सोच्दा नजिकैको बर्दिया राष्ट्रिय निकुञ्ज जाउ भन्ने सल्लाह भयो। र तेतै लाग्यौ।

राझा बाट महेन्द्रनगर जाने गाडी मार्फत (भाडा: २५० रुपिया) अम्बासे पुग्यौ। auto सातेर करिब १० km तलको निकुञ्ज छिर्ने ठाउमा पुग्यौ (भाडा १०० रुपिया )। जंगल सयर गर्न को लागि travel agency हरुलाई बिहानै भनेर आउन पर्ने रहिछ। १० बजे बाट full day सफारी हुने रहिछ।हामी ढिलो पुगेको ले भित्र राखिएको जिबजन्तुहरु र थारु कल्चरल घर हेरेर अम्बासे फर्कियौ।

फ़ोक्सुण्डो ताल जाने बाटोमा रहेको धेरै मध्येको एक खोला।

समय अझै बाकी रहेकोले कर्णाली को पुल हेर्न (५० रुपिया भाडा) चिसापानी गयौ। बिहान देखि खाना खाएका थिएनौ। तेहा साथीहरुले माछा खाना खाए मैले सादा (veg मान्छे परियो)। हावा धेरै चल्ने रहिछ पुलमा। केहि बेर बिताएर राझा एअरपोर्ट (नेपालगंज) फर्कियौ।

दिन ३: नेपालगंज ➡️ डोल्पा (जुफल ✈️✈️) + जुफल ➡️ छेप्का (🚶🚶🚶)

आज मौसम सफा छ भनेर खबर आयो। करिब ६:१५ मा नेपालगंज बाट उडेका हामी करिब ६:४५ तिर जुफल पुग्यौ।हिजो सकुसल airport मै हिडिरहेका बाजे आज wheel chair मा आइराखेका थिए। paralysis भएको भनेर। टिकट नपाएर निहु बनाए जस्तो लाग्यो।मानिस लाई समस्या परेपछि भगवान ले विभिन्न समाधान सिकाउछन भन्थे। यो पनि तेस्तै हो कि।

हामी हिड्ने बाटो दुई डाडाको बिचै बिच

करिब ७:१५ मा जुफल बाट हिड्यौ।सुलिगड (6.75 km) सम्म गाडी पनि जान्छ भन्दै थिए संगै आएका प्रकाश ढकाल (हाल नेपाल बैंक डोल्पा मा कार्यरत) भाई ले। हिड्न भनेर आएका हामी नया ठाउँ हो बिस्तारै हिड्दै जाउ भनेर हिड्न थाल्यौ।

ढुंगा छापिएको बाटो। साना साना घरहरु।छेउमा ठुला ठुला पहाड।हल्का सेता बादल सहितको गाढा निलो आकास। पहाड बीच बगिरहेको एउटा निलो खोला।खोलाको छेउमा खनिएको मोटर बाटो र बाटोमा गुडिरहेका केहि मोटर, टेक्टर र बाइकहरु। बारीमा फुलिरहेका फापर, तथा जौ। केहि पर देखिने हिमाल को चुचुरो। स्कुलमा जाच दिन जादै गरेका बालबालिकाहरु।यस्तै थियो जुफल बजारबाट हिड्दाको डोल्पाको पहिलो स्मृति। हामी खुशी थियौ यहाँ आउन पाएकोमा।

बाटोको छेउमा उम्रिरहेका गाजाका बोटहरु देखेर उत्साहित साथीहरुको अनुहार अझ हेर्न लायक थियो ।

सुलिगडमा राखिएको डोल्पाका विभिन्न ठाउँ हरु संगको दुरी विवरण

सुलिगड पुगेसी दुनै जाने र फ़ोक्सुण्डो जाने बाटो छुटिदो रहिछ।हामी सुलिगड खोला को छेउ छेउ फ़ोक्सुण्डो तर्फ लाग्यौ।

अब बिस्तारै mobile मा देखिएको tower पनि घट्दै थियो। केहि माथिको गाउ (९:३०) मा खाना बनाउन भनि खाना खायौ। तेही भएको निकुञ्ज अफिसमा टिकट काटी अघि बढ्यौ (१०:५०)। करिब १२ बजे कागनी पुगेर बाटोमा फलेका आरु खायौ। स्थनिएसंग दाते ओखर (दात ले फुट्ने ओखर) रु १० प्रति गोटा किनेर केहि बेर आराम गरि अघि बढ्यौ (१२:३०) ।

जंगल को बीच नदिको किनारै किनारा कहिले उकाली त कहिले ओराली हिड्दै करिब ३ बजे तिर छेप्का पुगेपछि केहि बेर आराम गर्यौ।यहाबाट नजिकको अर्को गाउ र्याची जान ४ घण्टा लाग्ने भएकोले छेप्का मै बस्यौ (याक होटेल, खाना👍 बेड👎 )।

“हामीलाई त विदेशी भन्दा नेपाली आउदा नै फाइदा हुन्छ। विदेशी आउदा टेन्ट राखेको १०० रुपिया मात्र पाउने हो। नेपाली आउदा धेरै पैसा आउछ।” “होटेल कस्तो चल्छ। विदेशी कतिको आउछन।” भन्ने मेरो प्रश्न मा होटेलको दिदि ले भनेको। विदेशी आउदा खाने कुरा सबै travel agency का guide हरुले सहर बाटै किनेरे ल्याउने र खाना बनाउने सामान संगै लिएर हिड्ने हुदा गाउले लाई खासै फाइदा नहुने रहिछ। यता चामल बाहेक अरु सबै तरकारीहरू (आलु, साग, गाजर, मुला, काउली, बन्दा, मकै, धनिया आदि ) घर मै फल्ने रहिछ। दिदिले भोटे चियामा पोलेको मकै राखेर खादै थिइन्। म चाई अचम्म मानेर हेर्दै बसिराको थिए।

“१५ वर्ष मा बिहे गरेको। यार्सा टिप्न जादा लप परेको। अनि भागेर बिहे गरेको। मागी भएको भए त यति टाढा कहाँ आउथे र। बिहे गरेको पनि ९ वर्ष भयो। छोरो पनि ९ वर्ष को भयो।” विहे बारेको प्रश्न मा उनले भनिन् ।

“यहाँ निकुञ्ज अफिसमा एकजना मधेसी बहिनि काम गर्छिन। उनीहरुको मा त बिहे गर्दा धेरै दाइजो दिन पर्छ रे। हाम्रो मा त मागी भएनी भागी भएनी एकसरो कपडा बाहेक केइ दिदैन। अझ ज्वाई ले सासु ससुरा पनि हेर्छ।” थप्दै गईन। यतिकैमा छेउ मा भएकी अघि देखि हेर्दै मुस्कुराउँदै बसेकी करिब १५ -१६ वर्ष कि बहिनि ले जिस्क्याउदै मुख खोलिन हल्का लजालु भावमा “डोल्पाली बिहे गरेर यतै बाट लैजानु के।” उनले के सोचेर जिस्क्याउन सुरु गरिन थाहा भएन। म भने यस्ता बच्चासंग पनि के जिस्किनु भनेर उनको भाब लाई वास्ता नगरी दिदि संगै बात मार्दै गए।

“यताको त केटा ले भन्दा केटि ले धेरै कमाउछ। केटा ले कमाएको पैसा चुरोट, रक्सि मा उडाउछ। केटि ले त कहिले होटेल चलाउने, कहिले बारीमा काम गर्ने, कहिले किरा टिप्ने (यार्सा), कहिले बस्तु भाउ चराउने गरेर धेरै कमाउछ।” दिदीले थप्दै गइन ।

“छोरा छोरी होस्टेल मा बस्छन।बुढा काठमाडौँ। guest हरु आइराख्ने भएकोले एक्लै हुदिन। ” परिवार मा त कोइ देख्दिन भनेर सोध्दा दिदि को जवाफ। ग्याल्पो लोसार बाहेक अरु चाड खासै नमान्दा रहिछन त्यो भेग का मानिस हरुले। “हाम्रो त थर मात्र गुरुङ हो। अन्त को सित भाषा खासै मिल्दैन। हामी भोटे भाषा बोल्छौ।” गुरुङ भनेसी तमु लोसार अनि हल्का गुरुङ भाषा बारे सोध्दा दिदि ले भनेको।

“दिदि हरुले यार्सा कसरि खानु हुन्छ नि ?” “दुध मा पकाएर अथवा रक्सि बनाएर। अथवा …” दिदीले मेरो यार्सा कसरि खादा रहिछन भन्ने को जिज्ञासा मेट्दै थपिन। “एक कप दुध को ८०० पर्छ यार्सा राखेको वाला को। ”

तिब्बत को नाका वर्ष को एकचोटी २०-२५ दिन को लागि खुल्ने रहिछ। साउन भदौ तिर। यताका मानिसहरुले तेही बेला आफुलाई वर्ष भरि चाहिने समान किन्दा रहिछन। केहिले यार्सा पनि उतै बेच्दा रहिछन। नेपाली पैसा चल्छ रे तेता। तेही भएर समस्या हुदैन। जाडोमा कि त बेसी झर्ने नत्र घरमा चिया खाने बस्ने। बाहिर अरु काम गर्न सकिदैन भन्दै थिइन् उनी।

तपाई काठमाडौँ जानु भएको छ? भन्ने मेरो प्रश्न मा दि भन्थिन। “पोखरा गएको छु।”

“ठाउँ राम्रो लाग्यो। सफा सडक। दिउसो राती जतिखेर हिडे पनि हुने। कस्तो रमाइलो। ”

“हामीलाई त पोखरा मा सुरुमा हिमाल देख्दा रमाइलो लागेको थियो। तपाई ले त त्यो सधै देखिराख्नु भएको छ अनि के रमाईलो लाग्यो त पोखरामा।” भन्ने मेरो प्रश्नमा दिदि ले भनेकी। यस्तै गफ गाफ गरेर बेलुका खान खाई हामी सुत्यौ।

कहाँ जाने समय कति ?

दिन ४: छेप्का ➡️ फोक्सुण्डो ताल

फ़ोक्सुण्डो ताल र रिग्मो गाउ को साथमा म नारायण

बिहान ५:४५ तिर हिड्न सुरु गरेका हामी र्याची पुग्दा १० जति बज्यो । अनि तेहा खाना बनाउन भनि आराम गर्यौ। खाना खाएर फेरी हिड्दा १२:१५ जति बजेको थियो।यहाँ पहिलो पल्ट भोटे चिया चाखेको घ्यु ठ्वास्स गनायो। घ्यु चाइनिज हो रे। यतै को चौरी को त गनाउदैन रे।पानीमा तिबटियन चिया पकाउने अनि तेस्लाई धोंमो (एउटा भाग बन्द गरिएको पाईप जसमा अर्को तिरबाट समान राखी चिया घोलिंछ) मा चौरी को घ्यु, नुन अनि चिया राखेर एकछिन चलाएसि बन्ने रहिछ भोटे चिया।

फ़ोक्सुण्डो खोला को छेउ छेउ जंगल बीच हिड्दै हिड्दै संदुवा (१:१५), तापिरिचा (१:४५), फ़ोक्सुण्डो झरना द्र्श्य बिन्दु (४:४५) हुदै फोक्सुण्डो (५:५०) पुग्यौ। तल को बाटो जादा करिब १:१५ घण्टा जति छिटो हुने भएपनि मथिबाट राम्रो दृश्य देखिन्छ भनेपछि हामी उकालो बाटो अघि बढेका थियौ । करिब ३७४८ मि मा रहेको view point बाट फ़ोक्सुण्डो र तेहा बाट निस्कने खोलाको झरना एउटै frame मा देखिदो रहेछ। view point मा करिब ३० मिनट बसी आराम गर्यौ। तेही क्रममा भेट भए पुग्मो गाउ का क्षिमित लामा दाजु। जसले हामीलाई पछि पुग्मो बाट चार ताल जान सहयोग गरेका थिए।

रिग्मो गाउ पुग्दा चितवन घर भएका सर संग भेट भयो जो तेहा पढाएर सेवा निवृत्त भई उतै स्थाई बसोबास गर्नु हुदो रहिछ। कुरा गर्दै जादा उहाको दाजुले मलाई ११-१२ मा अर्किडमा पड्दा पढाउनु भएको रहिछ। केहि बेर कुरा गरि हामी छुटियौ। उहा संग गफ गर्दा छुट्टै आत्मिएता अनुभव भयो। घर बाट टाढा हुदा भूगोल को नाता नै बेग्लै लाग्ने भन्या।

साथीले अघि नै ताल नजिकको होटेल लिसकेको ले तेहा गएर आराम गर्यौ। (कान्जिरोवा होटेल: खाना 👍👍, बेड 👍👍)।

“यहाँ चितवन तिरको सर छन्। चिया चै सारै गुलियो खान्छन।”माथिल्लो डोल्पा घर भएका होटेल साहु बोल्न थाले। “जता गुलियो तेता बाहुन भुल्यो भन्ने उखान नै छ नि। यता चै जे मा पनि नून मिसाउनु हुदो रहिछ। ” मैले थपे। यता इन्टरनेट चल्दैन भनेर सोध्दा राति ११ बजे देखि बिहान ६ बजेसम्म चल्ने बताए पाओर कम भएर। फोन चै गर्न मिल्ने रहिछ। धेरै जसो ठाउमा सानो फोन मा टावर देखाउथ्यो ठुलोमा देखाउदैन थियो।

दिन ५: फोक्सुण्डो ताल ➡️ताल दृश्य विन्दु➡️ पुग्मो

बिहान सबेरै उठेर करिब ३ घण्टा हिडेर ताल दृश्य विन्दु पुग्यौ केहि बेर बस्यौ। हामीले ताल को चार कुना देखिने बिन्दु सम्म पुग्यौ। आराम गर्यौ र केहि फोटो खिची फर्कियौ। ताल छेउछेउ नजिकै रहेका हिमालहरुको छायामा हिड्दा करिब १ घन्टाको उकालो/ओरालो बाटो पनि तेती लामो लागेन। तेसपछी हामी रिग्मो गाउमा रहेको थासुङछोलिङ गुम्बा घुम्न गयौ।गुम्बा घुम्दै गर्दा लेखक गनेश पौडेल को कान्तिपुर मा छापिएको सस्मरण को किस्सा सम्झिए।

‘नौ सय वर्षअगाडिको कुरा हो, रिग्मो गाउँको यो गुम्बा भएको कुनो सिकारीहरूको चुनिन्दा थलो थियो । फोक्सुन्डो खोलाको तिरैतिर खेदेर ल्याइएका नाउर, कस्तूरी वा अरू जनावरहरू जब यो तीनकुने ठाउँमा पुग्थे, तब रनभुल्लमा पर्थे । त्यो तीन कुना उनीहरूको लागि त्रिशूलझैँ मारक अवस्था भैदिन्थ्यो । अगाडि उभिएको अजंगको कुप्रे भीर चढ्न सक्ने कुरा थिएन, अर्को छेउमा गहिरो ताल थियो जसको चिसोमा पछारिएपछि ठाउँका ठाउँ ज्यानको पूरै रगत जम्थ्यो । पछाडितिर भाला र धनुषकाँड बोकेका सिकारीहरू हुन्थे । चेपुवामा परेका निरीह जनावरका आगाडि ती तीनैवटा विकल्प प्राणघातक थिए । मृत्युको यस्तो नजिक उभिँदा उनीहरूको डर र्‍याल, सिँगान र आँसुको भेल्कोमा मिसिएको भयानक आर्तनाद बनेर मुखबाट निस्कन्थ्यो । तर मान्छेले पशुको आवाज बुझ्ने भए पो ! बुझेकै भए पनि छोड्ने भए पो ! काँचो होस् या पाकेको, मासुको स्वादका अगाडि हाम्रो दया, करुणा, मानवता उहिल्यैदेखि हार्दै आएको हो ।
अनि विकल्पहीन बरा जनावरहरू भकाभक तालमा हामफाल्थे । गर्भिणीहरू खस्थे, भर्खरै जन्मेका नाबालक पाठापाठीहरू खस्थे, यौनवको प्रथम संसर्गको उत्सव मनाउन भर्खरै भेट भएका प्रेमातुर यौवनाहरू खस्थे, वयस्कहरू खस्थे । कति भीरका चुच्चा ढुंगामा घिच्रो बजारिएर हिक्क पनि गर्न नपाई मर्थे, कति सोझै तालमा हेलिएर प्राण विसर्जन गर्थे । जो खस्तैनथे उनीहरूको छातीमा तिखा भाला र बाण रोपिन्थे । मृत्युको यस्तो अवश्यंभावी कुनोबाट समस्त जनावरलाई जोगाउने कुनै जागरुक मनुष्य आउने समयसम्म पर्खिन उनीहरूलाई कैयन वर्ष लाग्यो । अनि आए लामा टेतन छेवाङ छुल्डिम जसले त्यही ठाउँ रोजेर बनाए बोन्पो गुम्बा र नाम राखिदिए थासुङछोलिङ । थासुङछोलिङ गुम्बा अर्थात् सिकारीहरूबाट जनावरलाई जोगाउन खोलिएको गुम्बा । त्यसउप्रान्त सिकारी कुनोमा जनावरको आर्तनाद सुनिएन । गाउँलेहरू विश्वास गर्छन्, जुन दिनदेखि थासुङछोलिङ गुम्बा स्थापना भयो, त्यसै दिनदेखि फोक्सुन्डो तालमा तालदेवी बस्छिन् । तालको पिँधमा भएको पत्थरमा उनका एकजोर पैतालाका छाप छन् ।’

स्थानीय लामाले नया गुम्बा त खोलिदिए। पुरानो चाही खोल्न मानेनन्। (पुरानो गुम्बा जिर्ण भएसी नया बनाइएको थियो।) साथीले मेरो कुरा ले गर्दा रिसायो भन्ने आसए व्यक्त गरे। खाटि कुरो बुझिएन। उनि दलाई लामा का विरोधी रहिछ जस्तो लाग्यो । मैले दलाई लामा का बारेमा सोद्धा बुद्द इंडियामा जन्मेको भन्न्चन बुद्ध त नेपाल मा पो जन्मेको भन्दै थिए उनि। मैले सिद्दार्थ जन्मेको ठाउँ अहिलेको नेपाल मा पर्छ। सिद्धार्थ ले ज्ञान पाएर बुद्द भएको ठाउँ बोधगया अहिलेको भारत मा पर्छ। तसर्थ बुद्द को जन्म भारत मा भएको भनेका हुन सक्छन भनेर दलाई लामाको कुरामा सहमति जनाएको थिए।

करिब १२ बजे खाना खायौ र १ बजे पुग्मो गाउ तर्फ लाग्यौ । पुग्मो जान सुम्दुवासम्म हिजोको बाटो फर्किनु पर्ने थियो। फर्किदा तल्लो बाटो फर्कियौ। गाउलेहरु बाटो बनाउदै थिए।बूढा बूढा मानिसहरु पनि उमेर भनेको एउटा अंक हो भने जसरी ठुला ठुला ढुंगाहरु पल्टाई रहेका थिए। गाउलेहरुको श्रम दान बाट हामी जस्ता फिरन्तेहरुलाई राम्रो पदयात्रा बनाएर सहयोग भैराखेको थियो। तल्लो बाटो पनि अलि ठाडो रहिछ। उक्लिदा र फर्किदा होसियार हुनु पर्ने।हिजो अनिश आउदा तल्लो बाटो भएर आएको अनि हामी माथिल्लो बाटो आएको थाहा नहुदा गाउलेहरुले काम गरिराखेको ठाउमा कुर्दा उसलाई धेरै गाउलेहरुले चिनेका थिए।आज फर्किदा पुग्मो र चार ताल बारे बताउदै थिइन् उसलाई उतै घर भएकी एउटी बजैले। अरु गाउलेहरुको शुभेक्ष्या साथ बोकेर हामी अघि बढ्यौ।

झरना सिधै अघि देखिदो रहिछ तल्लो बाटो बाट। हिजोको ठाडो उकालो आज ठाडो ओरालोमा परिवर्तित भएको थियो। जुन रुप भए पनि यो हाम्रो निर्बलता अनुभव गराउन काफी थियो।यात्रामा अनुभुति थियो त केवल शरीरका दुखाईहरु र खिल जसरी बसेका पुराना यादहरु। एक हिसाब ले यात्रा पनि ध्यान जस्तो जहाँ पुराना खिल जसरी बसेका यादहरु एक पछि अर्को गर्दै बाहिर निस्कदै जान्छन र मन लाई हलुङ्गो बनाउछन। मलाई यात्राको गन्तव्य भन्दा पनि यहि कुराले आकर्षित गरे जस्तो लाग्छ कहिले काही।एक्लै यादहरुका साथमा कयौ दिन हिडिदिन सक्छु जस्तो। साथ त केवल पुराना घटना, परिघटना, सम्बन्धहरुको मिठो सम्झनाको। जो खहरे भेल जसरी आउछन र हल्का मुस्कान, लाज, पश्चताप, हिनताबोधको भारी बोकाएर खहरेको भेल जसरी नै जान्छन । यादहरु को साथमा लामा लामा गन्तव्यहरु पनि निमिट भरमै सकिने।यस्तै यादहरु को प्रेमले होला मलाई निश्चित गन्तव्य भन्दा पनि तेहा सम्मको यात्रा मन पर्ने गर्छ। जहाँ म आफैमा हराउन सक्छु।

हामी करिब ४ बजे तिर सुम्दुवा पुग्यौ अनि ५:३० तिर पुग्मो। बाटो सिधा अनि सजिलो रहेछ सुम्दुवा बाट पुग्मो जाने।

पुग्मो गाउमा लाम्ग्याल लाखाङ गुम्बा रहेछ। तेहा बाट एक-दुई घण्टा बाटोमा अर्को private गुम्बा रहेछ। गाउलेहरुले 90 किलो वाट जतिको जलविधुत बनाएका रहिछन। अहिले खेतीको मौसम भएकोले चौरी र घोडाहरु प्राय सबै माथि पाटनमा राखेका रहिछन। २ डाडा बिच छेवै बाट बगेको खोला बीच थियो पुग्मो गाउ। यताको गाउहरुमा गाउ को ओरिपरि आत्माहरु नआओस भनेर गुरुहरुको सम्झनामा स्थुपा बनाइदो रहेछ (डोल्पो जाति का केहि विशेषताहरु: १. लासलाई काटेर गिद्दलाई खुवाउने चलन भएको जाति , २. बैशाख पु्र्णिमामा मात्र पुजा गर्ने,गुम्बा भ्रमण गर्दा परिभ्रमण दाँयाबाट गर्ने, घण्टी बजाउँदा उत्तानो पारेर बजाउने जाति , ३. बहुपति विवाह प्रथा कायम रहेको जाति [जानकारीको मात्र])। पछि क्षिमे दाजुलाई सोध्दा सक्नेहरुले गुरु र विशेष गरि छोराहरुको मृत्यु पछि स्थुपा बनाउने कुरा गरे। छोरीहरुको चाई बनाउदैन ? भनेर सोध्दा बनाउन मिल्छ भने तर अरु कुरा भने राम्ररी बुझाएनन। बेलुका होटेल साहुलाई सोधुला भनेको बिर्सेछु।

पुग्मो मा करिब ४०-५० घर भए पनि एउटा मात्र होटेल रहेछ। कान्जिरोवा होटेल (खाना 👍, बेड👍) भन्ने। होटेलमा कोठा लिएर हिजो भेटेको क्षिमित (for cell: contact me, excellent guide) दाजुसंग भोलि, पर्सिको तालिका बनायौ।

भोलि चार ताल जाने भयौ।

पर्सि कागमारा जाने कि दुनै फर्किने भन्ने दुबिदा थियो।

kagmara pass बाट view चाई बबाल छ कान्जिरोवा हिमालको भन्ने सुनेको थिए।कागमारा पास (५११५ मि ) को नाम चाई काग उडेर पार गर्दा प्राय मर्ने भएको ले हुन गएको भन्ने सुनेसी हल्का खतरै छ कि जस्तो लाग्यो। यता मनाङ्ग बाट मुस्तांग जादा को थोरंगला पास (५४१६ मि.) भन्दा थोरै होचो भएकोले गाइड लिएर प्रयास गरौ न भन्ने थियो हाम्रो कुरा। दाजुले बाटोमा होटेल नभएकोले बाटोमा कम्तिमा २ दिन टेन्टमा बस्नु पर्ने र हामीलाई टेन्ट चाहिए मिलाउन सक्ने कुरा बताए। अनि जाने तालिका बताउन लागे। पहिलो दिन वारिको high camp, दोश्रो दिन पारीको high camp, तेस्रो दिन … भन्दै भन्दै दिन गन्दै गएसी अहिले भ्याइदैन भन्ने लागेर उता जाने तालिका हाप्यौ। ४ दिनमा काठमाडौँ फर्किनु पर्ने थियो जुम्ला पुग्न कम्तिमा ४-५ दिन लाग्ने भयो। घोडा लैजादा पनि खासै दिन नघट्ने भयो।

दिन ६: पुग्मो ➡️४ ताल➡️ पुग्मो

चार ताल कसरी जाने ?

पुग्मो बाट १०-१२ ओटा स्याउ, खाने कुरा, पानी आदि बोकेर बिहान ६:३० मा ४ ताल तर्फ लाग्यौ। करिब १० बजे चौरी गोठ मा पुगेर खिर बनाउन भन्यौ। गोठाला हरु पुग्मो कै भएकोले दाजुले सबै व्यवस्थापन गरे।यो पहिलोपल्ट थियो यति धेरै चौरी एकै साथ देखेको। गोठाला हरु कोइ दुहुदै थिए त कोइ मल हरु सफा गर्दै। हामी केहि फोटाहरु खिचेर गोठाला बस्ने घर भित्र गयौ। उहाहरुले हामीलाई भोटे चियाले स्वागत गर्नु भयो। भोटे चियाको चुस्की संगै उहाहरुको बसाई बारे कुरा गर्न थाल्यौ। हाम्रो बोलि छिटो भएर हो कि किन हो कुन्नि क्षिमित दाजुको सहयोग चाहिएको थियो हामीलाई बात मार्न। महि पार्ने भाडो, भोटे चिया बनाउने भाडो, रोटि मुछ्ने भाडो सबै हाम्रो लागि नया थिए। तेहा करिब १६ १७ वर्ष देखिने नानी रहिछन अरु भन्दा नेपाली राम्रो संग बुझ्ने। उनि पनि ६ कक्षा सम्म तापरिचा स्कुल मा पढेर चौरी चराउन को लागि स्कुल छोडेको रे। ३ वर्ष अघि। मान्छे चाहि सारै लजालु। नया मान्छे देखेर होला।

एकजना दिदीले ओठ को भित्र पट्टिको घाउ देखाउदै केहि औषधि छ र भनेर सोध्दा सहयोग गर्न नपाएको मा दुख लाग्यो। अस्पताल त पक्कै आउदिनन होला (टाढा भएकोले) अब कति दिन दुख पाउने होला (काठमाडौँ भएको भए २० ३० रुपिया को मलम ले निको हुने घाउ ले गर्दा) भन्ने सम्झिदा मन नै कस्तो कस्तो हुने। हिजो पनि र्याचीमा टाउको, आखा दुखेर गार्हो भयो भन्ने दिदीलाई के दिने हो त paracetamol बाहेक केइ छैन भन्ने भएर दुखि भइएको थियो। हामीलाई २-३ जना बिरामी भेट्दा त एस्तो हुन्छ। ति दुर्गम का डाक्टरहरु जो औषधि, उपकरण बिना सेवामा जुटेमा हुन्छन। कस्तो लाग्छ होला तिनीहरुलाई।

चौरीको छुर्पी, दुध, खिर, उवाको सातु, अनि भोटे चिया आदि खाएर करिब १२ बजे चार ताल तिर लाग्यौ।पहिलोपल्ट चौरी को परिकारहरु चाख्न पाउदा मन र्रोमाञ्चित थियो। साथै अगाडी देखीने हिमालका चुचुरा, ठुला ठुला पहाड, छेउ को नदि अनि चरिरहेका चौरी, याक र च्यंग्रा देखेर पनि। अगाडी देखिने कान्जिरोवा हिमाललाई पुरै बादल ले ढाकेको छ भन्दै थिए दाजुले।हामी चुचुरो मात्र देखि रहेका थियौ।

बाटोमा कालो ताल (छो–नाक्पो) अघि आउदो रहिछ।पहिले पहिले कालो तालको मुनि गुम्बा देखिन्थ्यो भन्दा रहिछन। मौसम बिग्रन आटिसकेको थियो।

सेतो ताल(छो–कारपो)पुग्ने बेला सम्म पानीले रुझाउन थालिसकेको र समय पनि २ बजिसकेको ले दाजुले सबै भन्दा माथि को अर्को ताल (छो–लुगाल) जान अझै २ घण्टा लाग्ने र आज जान नसकिने बताउदै थिए। हाम्रो खुट्टा पनि कमजोर भएको तथा बिग्रेको मौसम मा धेरै रिस्क नलिगम भनेर बाकी रहेको निलो ताल (छो–ङोन्पो) हेरेर फर्कियौ।

मौसम ले गर्दा हिमाल नदेखिए पनि अरु कुरा साचिकै मनोरम थियो। मन त थियो अझै बस्न। रात नपर्ला भनेर torch light तलै छोडेको अनि पानीको लागि rain coat नबोकेकोले पानीमा रुज्दै गोठ फर्कियौ।

हामीले लगेको च्याउच्याउ बनाउन लगायौ अनि केहि चौरीको छुर्पी, घ्यू किनेर फर्कियौ। होटेल पुग्दा ७:३० बज्यो। बिहान अलि छिटो निस्केको भए र खिर खान नभुलेको भए माथिल्लो ताल पनि भ्याइन्थियो होला कि भन्ने लाग्यो। एक चोटी मात्र आएर भएन नि अब त्यो अर्को चोटीको लागि।

White lake, Black lake and Blue lake

दिन ७: पुग्मो ➡️ छेप्का

बिहान ६ बजे निस्कने भनेको पानी ले रोक्यो। पछि केइ बिदो भएसी ७:३० मा निस्कियौ। अनि करीब ८:३० मा संदुवा पुग्यौ र १२:३० जातिमा छेप्का पुग्यौ। पानी सारै धेरै परेकोले केहि बेर छेप्का मै बस्ने भनि खाना खान थाल्यौ। तल तिरको आकास पनि खासै सफा नदेखेसी आज यतै बस्ने भयौ। आराम गर्ने दिन। अब करिब ३-४ घण्टा लग्छ दुनै पुग्न भन्दै थिए स्थानीय ले। पानी परेको ले risk लिन मन लागेन।

Black Lake

साथीहरु उवाको एक पानेसंग याकको सुकुटी भुटन चाख्न थाले। म उनीहरुले रमाइलो मानेको हेर्दै जिस्काउदै बसे। पुरै नहिडेको दिन त लामो लाग्ने भन्या।

छेप्का गाउ मोबाइल नेटवर्क बाट टाडा थियो। काठमाडौँ भएका २ छोरालाई हिजो दुनै गएर फोन गरेर आएको भन्दै थिए होटेल साहुले। ३ घण्टा जति लाग्यो रे आउन। कहिले हो त छोरा संग भेट भएको भनेर सोध्दा ठुलो संग ३ वर्ष भयो सानो संग २ भयो भेट नभएको भन्दै थिए। हाम्रो तिर झन्डै झन्डै विदेश बाट फर्के जस्तो हुने घर आउने समय। दशैँ नमान्ने अनि लोसार मा धेरै चिसो हुने भएको ले हो कि ?

दिन ८: छेप्का ➡️ दुनै

बिहान ६ बजे छेप्का बाट हिडेका हामी करिब ८:१५ मा कागनी पुग्यौ।छेप्का बाट कागनी सम्मको बाटोमा टन्नै गाजाका झाडी हरु थिए। गाजा कानुनी रुपमा खान मिल्ने भए यो ठाउका मानिसहरु मालामाल हुन्थे होला। काठमाडौँ तिर त गाजा को रेशा बाट बनेका झोला देखिन्थे यहाँ अब कसले बनाउने। याक को छाला हरुबाट नि पहिले पहिले जुत्ता बनाउथे रे। अहिले त कसैलाई आउदैन भन्दै थिए हिजो छेप्कामा होटलका दाजुले। अहिले त पुरै खेर जान्छ। जुत्ताबनेर ठमेल मा लगे त ५०००० मा बिक्छ भन्दै थिए। बेच्ने कला चाई नभएकै हो हामीसंग लाग्ने। बाटोमा कतै गिफ्ट पसल नदेख्दा पनि।

कागनिमा केहि ओखर किन्यौ। तल ५ रुपिया प्रति गोटा पाइने भन्ने कुरा तेहा १० रुपिया प्रतिगोटा किनेपछि मात्र भने अर्को समुहका गाइड दाजुले। खासै धेरै होइन स्थनिए लाई जान्छ भनेर चित्त बुझाइयो।

सुलिगड पुग्दा १०:१५ बज्यो। एकछिन मोबाइल चलाउदै आराम गर्यौ। ३-४ दिन पछि चलाउन पाइएको थियो इन्टरनेट। पछि दुनै पुग्दा ११:४५ बज्यो। अस्ति नेपालगंज बाट आउदा भेट भएका प्रकाश ढकाल भाई लाई सम्पर्क गरि फेरी भेटघाट गर्यौ। आजको बसाई भाई संगै हुने भयो। अनि खाजा खाएर भाइले दुनै बजार घुमाइदिए।

plane ticket बारे बुझ्दा डोल्पा को लागि तारा को दोश्रो flight allocate भयो भने तपाईहरुले पाउनु हुन्छ। बेलुका फोन गर्नु होला भने उता बाट। ठिकै छ दोस्रो भएन भने गाडी बाट जाउला भन्ने सोच गरि आज दुनै बस्ने कुरा भयो। बेलुका फोन गर्दा plane आउने भयो मौसमले साथ दिएमा भन्ने खबर आयो। केहि दिन अघि कान्तिपुर मा पढेको सडक नाजुक सम्बन्धि समाचार र अस्ति फ़ोक्सुण्डो जादा गाडी बाट झरेर टाउको फुटेको भन्ने अर्को समुहका एकजना को अनुभव सुनेर पनि गाडीमा चाई जान मन थिएन। अब मौसम राम्रो होस् भन्ने कामना बाहेक अरु केइ विकल्प थिएन हामीसंग।

दिन ९: दुनै ➡️ जुफल ➡️ नेपालगंज ➡️चितवन

५ बजे तयार भइ जुफल जाने गाडी थिम गएको। अघि नै दुनै बाट एक टिप लगेर फर्किने बेला टाएर पन्चट भएछ। उसले भनिदिएको अर्को गाडीको पनि engine start भएन। ७ बजे आउन भनेका थिए airport। गाडीले धोका दिए जस्तो छ। गाडीले धोका देला भनेर हिजै आज ५ बजेको लागि बुक गरेको पनि काम लागेन। लाग्यो हिजो उतै जुफल गएर बस्न पर्ने रहिछ। पछि ६:३० तिर पन्चट टालेर आएछ बुक गरेको गाडी । करिब ७ बजे तिर एरपोर्ट पुगियो। मौसम ले गर्दा plane delay भएको रहेछ। केहि असर परेन।

ticket लिने बेला ३ जना मध्य २ जना ले मात्र पाउने रे। फेरी अर्को नाटक। किन तेस्तो बुझ्न सकिएन। कि विदेशी, कि आफन्त वाद त होला भन्ने लाग्यो। जति visitnepal भने पनि एस्ता समस्या नसुल्झाए आन्तरिक पर्यटक को यात्रा अनुभव चाई केइ हदसम्म नराम्रो नै हुने छ। धन्न मेरो चाई भाई अशोकको सहयोगले गर्दा सजिलै भैराको छ दुर्गम तिरको हवाइ यात्रा।

म र अनिश नेपालगंज आयौ। सोहेल भाई भोलि पल्ट आए। म चितवन तर्फ लागे नेपालगंज बाट। अनिश र सोहेल काठमाडौँ तर्फ।

अब अर्को चोटी कम्तिमा १ महिना समय लिएर जोमसोम बाट छिरेर जुम्ला निस्कने गरि माथिल्लो डोल्पा घुम्ने भाका राखेर फर्कियौ।

बाटो: सजिलो (८०%), हल्का गारो (२०%)

खर्च: 9260 (9 दिन को बसाई खर्च)+ 5300 (npj ->dolpa )+5110 (dolpa ->npj)

गाडीमा कसरि जाने ?

गाडीमा जादा काठमाडौं बाट राडी (जाजरकोट) को बस सात्ने। तेस पछि जीपहरु परिवर्तन गर्दै सुलिगड पुग्ने।

बुटवलबाट गाडीमा आएको एक समुहको यात्रा जानकारी

यहाँ सम्म पढ्दा तपाईको मनमा केहि जिज्ञासा अथवा सुझाव भए Response मा गएर बाढ्नु होला।

फोटोहरु ©नारायण कंडेल

डोल्पा सम्बन्धि समाचार तथा ब्लगहरु

Free

Distraction-free reading. No ads.

Organize your knowledge with lists and highlights.

Tell your story. Find your audience.

Membership

Read member-only stories

Support writers you read most

Earn money for your writing

Listen to audio narrations

Read offline with the Medium app

Responses (1)

Write a response