Mardi Base Camp Trek — 2076

असोज २६ (आइतबार) — असोज ३० (शुक्रबार), २०७६
दशैँ तिहार को बीच को समय पारेर कतै ट्रेक जाउ न भन्ने नविन को कुरामा सहमत भएर जोडियौ म, प्रकाश र दिपेन्द्र। सल्लाह भयो कास्की को काँडेमा भेट हुने अनि Australian Camp हुदै मर्दी फेदी तिर जाने ।
म चितवनबाट बागलुंग जाने गाडीमा चढेर काँडे झरे। नविन र दिपेन्द्र काठमाडौँबाट आए। प्रकाश बुटवलबाट।

सबै जम्मा हुदा रात परिसकेको थियो। हल्का पानी पनि परिरहेकोले बाटो चिप्लो हुने अनुमान गरि काँडे मै बस्ने निर्णय गर्यौ। होटेल प्याक हुन लागिसकेको रहेछ। एउटा होटेलमा एउटा कोठा खाली भन्ने कुरा आयो। तेसैमा बस्यौ। चलेको पर्यटकीय ठाउको झल्को होटेलको मेनु ले दिन थालेको थियो। मुख्य सडकमै रहेको होटेल मा सादा खाना २५०। किन भनेर सोध्दा “सबै समान पोखराबाट ल्याउनु पर्छ। महँगो पर्छ।” भन्ने काम चलाउ जवाफ पाइयो।
साथीहरुसंग धेरै पछिको भेट थियो। नविन अस्ट्रेलिया। प्रकाश बुटवल र दिपेन्द्र काठमाण्डौ। एक अर्काका जीवनमा भैरहेका नया परिवर्तन तथा पुराना संगै काम गर्दाका घटनाहरु सम्झदै गफ गरिरहेका थियौ। छुट्टै आनन्द आउने पुराना मित्रहरुसंग बसेर पुराना कुराहरु सम्झदै गफिन। हाम्रा यी गफहरुलाई रोक्ने काम गर्यो होटेल साहुको हल्ला नगरी सुत्न गरेको आग्रहले ।
दिन २: Kande — Deurali — Forest Camp — Rest Camp
बिहान सबेरै उडेर ५:४५ मा Australian Camp तिरको यात्रा सुरु गर्यौ। अनुमानित समय थियो १:३० hrs। ठाडो उकालो र घना जंगल बिच चराचुरुंगीका चिर्बिर आवाजले हिड्न हौसला दिइराखेको थियो। साथीहरुलाई पहिलो दिन - पहिलो प्रहरको हिडाई नै आतंकित पार्ने खालको परेछ। थोरै हिड्दा गरेको स्वा स्वा आवाजले तेस्को प्रमाण दिन्थ्यो। परेसी गरिन्छ भन्ने विश्वास ले हार भने मानेका थिएनन।
हिड्दै गर्दा Australian Camp को होटेलमा कुकको काम गर्न भनेर नवलपुरबाट आएका एकजना भाई भेटिए। उनि पनि आतिएका थिए काँडे देखिको उकालो देखेर। “यस्तो ठाउमा होटेलको सामान तल बाट माथि लैजानु पर्यो भने त म छोडेर जान्छु। ” उनि भन्दै थिए। “राम्रो तलव सुविधा भनेर यता आएको हु। तर तल माथि गर्न गार्हो रहेछ। ”
हामी करिब ८ बजे Australian Camp पुग्यौ र केहि अघिको पोथाना भन्ने ठाउमा बसि आराम गर्यौ। कालो चिया खायौ। “हामी पोहोर आउदा राम्रै हिमाल देखेका थियौ। अहिले बादलले गर्दा देख्न दिएन।” भन्ने मेरो गुनासो मा होटेल साहुनी दिदि भन्दै थिइन् “बिहान हिमाल देखिएको थियो अहिले त बादल ले पुरै ढाक्यो।”

हल्का उकालो बाटो हिड्दै हामी पित्तम देउराली पुग्दा एकै पटक ठुलो हिमाल देखियो। हामी लगायत अरु यात्रीहरु सबै उत्साहित भयौ। घडीमा करिब साढे दश बजेकोले तथा अर्को बिन्दु अलि टाढा भएकोले तेहि सादा खाना (मुल्य ४५०) खायौ र अघि बढ्यौ।
भेडी खर्क, दुध खर्कमा केहि चिया पसल बाहेक अरु केहि रहेनछ Forest Camp सम्मको बाटोमा । मौसम पनि कहिले पानी पर्ला जस्तो त कहिले खुल्ला अनि कहिले धुम्म भै रहेको थियो। हल्का ठाडो उकालो हिड्दै हामी करिब ५ बजे Forest Camp पुग्यौ।
बाटोभरि मानिसहरु थिए। स्वदेश तथा विदेशका विभिन्न ठाउँहरुबाट आएका। थाइल्याण्डबाट आएको एउटा समुहमा त ४२ जना रहेछन। बच्चा, वयस्क र वृद्धवृद्धाहरूको पारिवारिक यात्रा जस्तो। तेस्तै नेपाली तथा विदेशीहरु राम्रै संख्यामा बाटोमा भेटिए।
“धेरै मानिसहरु माथि गइराखेका छन्। बुक नगरे गारो हुन सक्छ कोठा पाउन।” भनेर काँडेका होटेल साहुले दिएको सल्लाह अनुरुप दुधखर्क बाट माथिका होटेलको नम्बर लिइ रेस्ट क्यापको होटेलमा कोठा बुक गर्यौ। Forest Camp मा बिजुली र wifi भएको होटेल प्याक भैंसकेकोले तथा Rest Camp को होटेलमा बिजुली, wifi का साथै बिहान उठ्ना साथ हिमाल देखिने कुराले गर्दा हामी तेहा बस्ने निर्णयमा पुगेका थियौ।
साथीहरु लाई पहिलो दिनको हिडाइ को डोज अलि धेरै नै परेको थियो। Forest Camp पुग्दा सम्म सिथिल खुट्टाहरु माथि होटेल बुक गरिसकेकोले गर्दा हिड्न बाध्य थिए। हुस्सुले गर्दा छिटै रात पर्ला जस्तो गरेको थियो। हामी टर्च बालेर करिब ६:१० बजे तिर पुग्यौ Rest Camp। बाटोमा स्याल ले तर्सायो साथीहरुलाई। जंगलमा रातिको हिडाई अलि डरलाग्दो नै लाग्छ मलाई। जंगली जनावरसंग हुने सम्भावित जमघटले गर्दा।
होटेल पुगेर सादा खाना (मूल्य ५५०) खाई आराम गर्यौ।
दिन ३: Rest Camp — Badal Dada — High Camp
बिहान उठ्दा आखै अगाडी हिमाल टल्किएको थियो। हामी हेर्दै रमायौ। फोटोहरु खिच्यौ र खाजा खाई करिब ८ बजे Low Camp तर्फ़ लाग्यौ। करिब ११ बजे Low Camp पुगेर सादा खाना खायौ (मूल्य ५५०) र फेरी यात्रा अघि बढायौ। हल्का उकालो जंगलको बाटोमा विस्तारै विस्तारै अघि बढेका हाम्रा पाइलाहरु बादल डाडा मा पुगेर केहि बेर चिया खान रोकिए । “बिहान त सफा थियो अहिले पुरै बादल ले ढाकेको छ। ” होटेल साहुजी भन्दै थिए।
केहि माथि अर्को होटेलमा (याक होटेलमा) याकको दुध हालेको चिया खानुस भन्ने साहुनिको आग्रह मानी फेरी रोकियौ। संगै आएका अरु समूहका साथीहरु पनि छक्क थिए हाम्रो हिडाई देखेर। हिहि । रोकिदै हिड्दै गरेर करिब ४:३० मा High Camp पुग्यौ। र आराम गर्यौ।
रेशम फिरिरी रेशम फिरिरी
उडेर जाउँ कि डाँडामा भन्ज्यांग, रेशम फिरिरी
होटेलमा संगीतिक माहोल जमिरहेको थियो। हामी पनि तेही माहोलमा मिसियौ। गित गायौ। नाच्यौ। होटलका अरु यात्रीहरु पनि माहोलमा रमाइरहेका थिए। करिब ३ घण्टा जति संगीतिक माहोल मा भुलेर बेलुकाको (सादा) खाना खायौ (मूल्य ६००)। भोलि बिहान ३ बजे उठेर सुर्यदय हेर्नको लागि हिड्न पर्ने भन्ने कुरा होटेल साहुले भनेका थिए । तेही अनुसार सुत्नु अघि समान मिलायौ र सुत्यौ।
दिन ४: High Camp — Mardi Base Camp — High camp — Talung Dada
बिहान २ बजेको अलार्म संगै म उठे। बाहिर सेता हिमालहरु प्रस्ट देखिएका थिए। आकाशमा ताराहरुको टिलीपिली पनि उस्तै सफा थियो। केहि बेर यहि माहोलमा हरायौ। र करिब ३ बजे हिड्न थाल्यौ। म करिब ४:१५ मा View Point (४२०० m) पुगे। साथीहरु ५:४५ तिर।

ठाडो उकालो हिडाई बिच प्रत्योक पाइलाले हामीलाई नजिक पुराएको भान हुन्थ्यो। आखाले देखेका ति अदभुत दृश्यहरु शब्द र फोटोहरुमा वर्णन गर्न गार्हो थियो। र त थकाइको एक भन्को पनि मान्न चाहेन मनले।
View Point पुगी कालो चिया खाएर (मूल्य १५०) नजिकै देखिने अन्नपुर्ण दक्षिण (7219m), हिमचुली (6441m), तारे कंग (7069m), गङ्गपुर्ण (7455m), अन्नपुर्ण III (7555m), गन्धर्ब चुली (6248m), माछापुछ्रे (6993m), मर्दी हिमाल (5553 m)आदिको शृंखला हेर्दै बस्यौ (height data from `OSM Peak Finder` android app)। सुर्यदयको प्रतिक्षामा। दुर्भाग्य भनौ कि के भनौ। हल्का लागेको बादलले राम्रोसंग सुर्यदय हेर्न पाइएन।
हामीले केहि समय हाम्रा अघिका टिलिक्क टल्किएका सेता हिमशृंखलासंग फोटो खिची बितायौ। र बेस क्याम्प तर्फ़को यात्रामा लाग्यौ।

साथीहरु उकालो चड्दा धेरै थाकेकोले र बेस क्याम्पबाट तेस्तो धेरै नया केहि नदेखिने भन्ने अरु यात्रीको भनाइले गर्दा गएनन। म एक्लै भए पनि पुग्छु भनेर Upper View Point (४३०० m) हुदै बेस क्याम्प (४५०० m) पुगे ८:२० तिर । केहि फोटो हरु खिचे। हल्का बादल सुरु भै सकेकोले माछापुछ्रे ढाकिन थालेको थियो।

यो ठाउँ पुग्दा को अनुभूति बेग्लै थियो। जसका लागी हामी गएको ३ दिन देखि र आज बिहान ३ बजे देखि हिडिरहेका थियौ। सम्पूर्ण थकानहरु एकै मिनेटमा सकिएको भान हुन्थ्यो। सेता अजिङ्गर पहाडहरु हिउले ढाकिएका थिए। स्थनिए मानिसहरु देउताको बास हुन्छ भन्ने मानेर माछापुछ्रे हिमालको पुजा गर्छन भन्ने सुनेको थिए [1]। देउताको माथि खुट्टा राख्ने कुरा नसुहाएर माछापुछ्रे हिमालमा मानिस चढ्न निषेध गरिएको कुरा सुने।कतिले हिमालको चुचुरो बिग्रन्छ भनेर निषेध गरेको भनेर पनि भन्दा रहेछन।
अरु एक दुई जना यात्रीहरु बिहान ७ बजे देखी फेदीमा बसिरहेको भनेर भनेका थिए।
“ बिहान त अझै राम्रो थियो। यता सुर्य उता चन्द्रमा।अगाडी सेता हिमालहरु। म पहिलो पल्ट यति उचाइ मा आएको।” भन्दै पूर्ण सन्तुष्ट भावमा बिहानको पलहरु वर्णन गर्दै थिए।
म तेहा केहि समय बिताए र फर्किए।
करिब ११ बजे हामी High Camp पुग्यौ र खाना खाई एकछिन आराम गरेर फर्किन तर्फ़ लाग्यौ।
फर्किन को लागि होटेल साहुले सिधै Sidhing निस्कने बाटो suggest गरे। Low Camp बाट Sidhing जाने बाटो भन्दा कम भिरालो भएको र यताको बाटोमा टन्नै साना खोला र झरनाहरु भएको भन्ने कुराले हामीलाई आकर्षित गर्यो। प्रकाश को फरकमत बीच हामी सिधै Sidhing जाने बाटो लाग्यौ १:१५ तिर। बाटोमा कोरिएको सेतो र निलो धर्सा + OsmAnd App मा रहेको बाटोको सहयोगमा।

सुरुमा कास अनि जंगल बीच भर्खर बनाएको ठाडो ओरालो बाटो झर्दै गर्दा त्रिभुज आकारको ३ ओटा सानो झरना भेट्यौ। रात पर्न थालिसकेको ले धेरै समय नबिताइ हामी यात्रालाई निरन्तरता दियौ।
बाटोमा एक ओटा चिया खाने बन्द पसल भेटियो। तर हामी बस्ने भनेको होटेलको नामोनिसान थिएन अझै।

झमक्क पर्न थालेको रात मा नविनले भालु देखेपछि हाम्रो हिडाई को वेग बढ्यो। हिड्ने खासै तागत थिएन। बस्ने ठेगान पनि । नक्सा मा देखिएको होटेलको नामोनिसान अझै देखिएन।
यतिकैमा केहि भैसीहरु देखिए। अब त होटेल आउला भन्ने आस लागेको थियो। त्यो पनि धेरै बेर सम्म नआउदा मेटिएको थियो।
हिड्दै गर्दा धेरै पछि पानीको पाइप भेटियो। हाम्रो लागि नजिकै कुनै घर भएको आशा।
र केहि बेरमा होटेल पनि।
दुर्भाग्य होटेल बन्द थियो। घना जंगल अनि कालो रात। के गर्ने भन्ने दुबिदा बिच होटेल साहुलाई होटेलको बोडमा भएको नम्बर मार्फत फोन गर्यौ। उनले एक घण्टा लाग्ने होटेल आउन भनेर बताए। हामी ले हुन्छ आउनुस भन्यौ र खुसि भयौ। बस्ने ठेगान मिलेकोमा। होटेलको एक ओटा कोठामा चापी लगाएको रहेनछ। हामीले खोलेर भित्रै बस्यौ।
साहुजी करिब ८ बजेतिर आए। कालो चिया र सादा खाना बनाए, खुवाए (मूल्य ४००)। हामी धेरै आभारी भयौ उनीप्रति ।
दिन ५: Talung Dada — Sidhing — Pokhara — Chitwan
म काम बिशेष ले गर्दा चितवन फर्किन पर्ने हुदा बिहान ६ बजे नै हिडे। साथीहरु केहि बेर पछि आउने भए। हिजोको बिहान ३ बजे देखि बेलुका ७ बजेसम्म को हिडाईले धेरै गलेकाले।
म ७:१५ तिर पुगे गाडी आउने ठाउँ मा। ८ बजे आउछ भनेको गाडीको आउने चालामाला नदेखे पछि फेरी ८:४५ तिर हिड्न थाले। हिड्दै गर्दा बाटोमा रमाइला खोला हरु देखिए। यतिकैमा एक ओटा गाडी आयो।
म चढे। गाडीमा रहेका अरु यात्रुहरुसंग गफगाफ गर्दा सबै मर्दी यात्राबाट फर्किएका रहिछन। “तपाइले ११-१२ सकेका केटाहरुको समूह भेट्नु भयो? सबलाई ल्यांग हान्दै हिडि राखेका थिए। अस्ति low camp बाट high camp जादा बाटोमा कुखुरा छोपेर मारेछन। पछि High Camp मा पकाएर खाएछन्।” गाडीमा हासो फुट्यो।अर्को ले आफ्नो कास्मिर जादाको गाजाको कहानी सुनाए। यस्तै यस्तै गफ बीच पोखरा पुगेको पत्तो नै भएन।
यो यात्राको विशेषता भनौ कि के भनौ फरक फरक चरित्रका मानिसहरु देखि फरक फरक भौगोलिक वनस्थिति। फरक खानपान। धेरै कुराहरु फरक हुन्छन हाम्रो दैनिक जीवन भन्दा। जसले सधै झैँ यो चोटी पनि यात्रालाई सम्झन लायक बनायो।
फोटोहरु ©नारायण कंडेल, प्रकाश अर्याल, नविन खड्का, दिपेन्द्र श्रेष्ठ
यहाँ सम्म पढ्दा तपाईको मनमा केहि जिज्ञासा अथवा सुझाव भए Response मा गएर बाढ्नु होला।
थप फोटोहरू

























[1] https://honeyguideapps.com/blog/machhapuchhre-a-mountaineering-mecca-or-just-a-proud-monument
** source: http://www.trinetra-adventure.com/Mardi%20Himal-site-15jrs-19-V12.pdf