Langtang Valley Trek 2020

Narayan Kandel
8 min readMay 8, 2020

फाल्गुन २१-२५, २०७६ (March 4 — March 8, 2020)

TL;DR: Kathmandu (day0), Domen (day1), Langtang (day2, 3), Safru Beshi (day4), Kathmandu (day5)

प्रिय साथी,

तिमी लाङटाङ घुम्न जान चाहेको कुरा सुन्दा खुशी लाग्यो। बेला मौकामा गर्ने पैदल यात्राले तिमी आफैलाई राम्ररी बुझ्न सहयोग गर्ने छ भन्ने मैले आशा लिएको छु। तिमीले मेरो भर्खरै गरेको भ्रमण बारे लेख्न गरेको आग्रह अनुरुप यो पत्र लेख्न बसेको छु।

केञ्जिङ्ग गुम्बाको दाया तिरको हिमाल शृंखला

लाङटाङ रसुवा जिल्लामा फैलिएको एक राष्ट्रिय निकुञ्ज हो। स्थानीय पौराणिक कथाका अनुसार कुनै समय एक जना मानिस आफ्नो हराएको चौरी खोज्न जादा उसले माथिल्लो लाङटाङ उपत्यका पत्ता लगाएको थियो रे। लाङटाङको अर्थ “चौरीको खोजी” भन्ने रहेछ। धेरै जसो तामांग बस्ति रहेको यस ठाउमा भोटे भाषा बोलिदो रहेछ।*

धेरै नै चर्चित रहेको यस क्षेत्रको यात्रा गर्ने सौभाग्य हामीले तयारी गरेको अर्को यात्रा मौसमका कारण सम्भव नभएकोले गर्दा भएको थियो। च्यो रोल्पा जाने तयारी गरेका हामीहरुलाई स्थानीयले अहिले त्यहासम्म जान सकिदैन भनेर भनेपछि अन्तिम घडीमा लाङटाङ जाने निचोडमा पुगी लागेका थियौ।

Team (Sujit and Me)

Day 1: Kathmandu — Syafru Beshi — Domen

हाम्रो यात्रा फाल्गुन २१ गते बुधबार बिहान ७ बजेको स्यप्रुबेशी जाने गाडीबाट (भाडा ६००) भएको थियो। माछापोखरीबाट छुट्ने गाडी चढी धादिङ्गको गल्छीबाट पृथ्वी राजमार्ग छोडेर नुवाकोट अनि रसुवा तर्फ लाग्यौ। गाडीमा सुजितको बसेको सिट बिग्रेको परेछ।अनि बेला बेलामा खुट्टा ठोकिने हुदा हल्का गार्हो हुन्थ्यो। Adventure भनेकै जस्तो अवस्था आउछ त्यसलाई सामना गर्ने हो भनी आफैलाई चित्त बुझायौ। दिउसोको करिब ३ बजे स्याप्रुबेशी झर्यौ।

Trek map. source: nepal101.net

गाडीबाट झरेर केहि बेर हिडेर पुरानो स्याप्रुबेशी हुदै दोमन सम्म पुग्दा पानी पर्न सुरु गर्यो।

यात्राको सुरवात

हल्का भोक पनि लागेकोले दोमन तिरै यात्रा टुंगायौ । अलि अलि 4G चल्ने त्यो ठाउमा चार्ज गर्ने कुनै सुविधा भने थिएन। जम्मा २ ओटा घर मध्ये माथिल्लोमा बस्यौ हामी (सादा खाना २७०/- pp, बसेको ३००)।

खाजा — पकाएको च्याउच्याउ

Day 2: Domen — Pahiro — Rimiche — Lama Hotel — Ghoda Tabela — Langtang

दोस्रो दिन बिहान करिब ६:३० तिर हामीले यात्रा सुरु गरेका थियौ। अलि अघि नै गर्ने भनेको हाम्रो यात्रा होटेल साहुनीको (हिजोको) भालुले बाटो हिड्नेलाइ आक्रमण गरेको कथाले गर्दा केहि समय पर धकेलिएको थियो।

दाया तिर खोला अनि बाया तिर जंगल। जंगलको बिचबाट आएको चराचुरुंगीहरुका आवाज। हिड्ने बाटोमा झरेका रुखका पातहरु। बिचबिचमा देखिने फूलहरु। पर निलो आकाश मुनी झल्याक झुलुक्क देखिने चादी जस्ता सेता हिमालहरु। यात्राको माहोल नै बेग्लै थियो। यहि माहोलबीच फोटो खिच्दै हामी अघि बढीराख्यौ ।

भुकम्पमा भत्किएको घरको भग्नावशेष

करिब 7:45 बजे पहिरो भन्ने ठाउँ पुगेर चिया खायौ र यात्रा लाई निरन्तरता दियौ।

बाटोमा बिच बिचमा भुकम्पले भत्काएका घरहरु देखिन्थे। करिब 10 बजे रिम्ची पुगेर खाना बनाउन लगायौ र खायौ (सादा खाना ३५०/- pp)।

रिम्चीमा खाना खाएको होटेलको भान्सा

करिब ११:३० बजे अघि बढेका हामी लामा होटेल (२४२० मि), घुम्ने खोला, घोडा दबेला, हुदै लाङटाङ गाउ (सादा खाना ५००, बसेको निशुल्क) पुगेर यात्रा टुङ्गायौ। 2015-april-25 को भुकम्पमा लाङटाङ लिरुंग हिमाल (७२२७ मि., लाङटाङ क्षेत्रको अग्लो हिमाल) मुनिबाट आएको हिमपहिरोले धेरै घर उजाड बनाएको यस ठाउमा भूकम्पको असर बारे सोध्ने आट मैले गर्न सकिन। अझै पनि १०० भन्दा बढी मानिस हराइरहेको भनिएको यस गाउ भुकम्प पछि फेरी निर्माण गरिएको थियो। पहिले गाउ भएको ठाउमा पहिरो आइ ढुंगै ढुंगा थुपारेको रहिछ। शिलापत्रमा तेस बेला ज्यान गुमाएकाहरुको नाम लेखिएको रहेछ। विदेशीहरुले पनि ध्वस्त गाउको पुनर्निर्माणमा धेरै नै सहयोग गरेको थाहा पायौ।

लामा होटेल नजिकै पैदल यात्रीहरु

बिजुली र इन्टरनेट राम्रो रहेछ। गाँउ मै नेपाल टेलिकमको टावर भएकोले 3G को गति राम्रो थियो।

Day 3: Langtang — Kyangjin Gompa — Kyangjin Ri — Kyangjin Gompa — Langtang

तेस्रो दिन लाङटाङबाट सुरु गरेर लाङटाङ (3400m) नै अन्त्य गर्ने हाम्रो सोच थियो। बिहान चिसो हिउ बीच (७ बजे) हिड्न थालेका हामी करिब १०:३० तिर केञ्जिङ्ग गुम्बा (3850 m) पुग्यौ।

केञ्जिङ्ग गुम्बा नजिकै

लाङटाङ बाट केञ्जिङ्ग गुम्बा सम्म को यात्रा झनै रमणीय थियो। हामी हिड्दै गर्दा हाम्रो बाया तिर लिरुंग II हिमाल (६४६०+ मि.), लुरी हिमाल (६८९०+ मि.), लाङटाङ लिरुंग हिमाल(७२२७ मि.), किम्सुङ्ग हिमाल (६७८१ मि.), उब्रा चुली (६२६५ मि.) थिए।

लाङटाङ गाँउ भन्दा केहि माथि सुजित

दाया तिर पिक ५८५७ (५८५७ मि.), नँया कंजा (५८४० मि.), गंजला पास (५१२२ मि.), कन्जला चुली (५६५२ मि.), पोनजेम डोप्कु चुली (५९२८ मि.), गनचेन्पो चुली (६३०० मि.) थिए।

लिरुंग II देखि लाङटाङ लिरुंग हिमाल सम्म

केञ्जिङ्ग गुम्पा बाट उत्तर तर्फ (अगाडी) यांसा सेंजी चुली (६५६७ मि.), सलबाचुम चुली (६६७०+ मि.), याला चुली (५५२० मि.) देखिन्थ्यो। चारै तिर देखिने चुलिहरुमा कतिपय भने नाम बिहिन थिए। नाम बिहिन हुनु भनेको नहुनु कहाँ हो र। नाम हुनेहरुको नाम खुट्याउन पनि घर आएर OSM Peak Finder भन्ने app को सहायता लिन पर्यो मलाई।

केञ्जिङ्ग गुम्बा
केञ्जिङ्ग गुम्बा नजिकै सुजित फोटो खिच्दै

केञ्जिङ्ग गुम्बा सम्म पुग्दा शरिर सार्है थाकेका थियौ। हिजो अलि धेरै हिडिएछ। त्यसैले होला आज अलिकति हिड्दा पनि थाकियो भन्ने लाग्यो मलाई। ओरिपरि बादल र हिमाल लुकामारी खेल्न सुरु गरिसकेका थिए। माथि गएनी खासै धेरै देख्न सक्दैनौ होला भन्ने सोचेर आज यतै आराम गर्ने सोची खाना बनाउन भन्यौ। खाना खाएपछि (सादा खाना ५५०, बसेको निशुल्क) केञ्जिङ्ग रि तर्फ जादै गरेका बुढा बाजे देख्दा हामी पनि लालायित भयौ माथि चड्न। अनि हामी माथि तिर लाग्यौ। चिसो हावा र ठाडो उकालोले गर्दा यात्रा केहि जोखिमपूर्ण जस्तो देखिन्थ्यो। हिमालमा जोखिमहरु हुन्छन। जीवनमा पनि त टन्नै हिमालहरु हुन्छन । हामी थाहा पाई नपाई ति हिमालहरु पार गरिराखेका हुन्छौ। त्यही भएर त जीवनलाई जोखिमहरुको एक सुन्दर कविता पनि भन्छन।

करिव २ घण्टाको हिडाई पछि केञ्जिङ्ग रि I (४३०० मि) मा पुग्यौ। जति माथि गयो उति राम्रो देखिने चारै तिर रहेका हिमालहरु हेर्दा नै मन चंगा भएर आउथ्यो। त्यहाँबाट लिरुंग हिमताल र किमसुंग हिमताल पनि देखिए। नजिकै पानी जम्मा गरेर बिजुली निकालिएको रहिछ। यहि बिजुली लाङटाङ गाँउसम्म पुराइएको रहेछ। मोबाइलको टावर भने टिप्दैना थियो।

बिजुली निकाल्न जम्मा गरिएको पानी
केञ्जिङ्ग रि I बाट केञ्जिङ्ग रि II जाने बाटो

सुरुमा जान गार्हो मानेका सुजित केञ्जिङ्ग रि II (४६०४ मि) मा जाने भन्दै अघि बढे। चुचुरो देखि लालायित भएर। बढ्दै गरेको चिसो हावाको बेग र तुवालोले गर्दा केहि नदेखिने सोची म अघि बढिन। करिब १ घण्टा जति ओरिपरिका हिमालहरुको आनन्द लिदै बिताए। म यता बसिरहदा सुजित उता चुचुरो पनि पुगी सकेका थिए। केञ्जिन रि संगै सेर्को रिमा (Tserko Ri, ४९८५ मि) पनि जाने इच्छा थियो। जान, आउन ६-७ घण्टा लाग्छ भनेपछि त्यो काम पछिलाई सार्यौ। भाईको बिहेमा भाग लिन छिटै चितवन फर्किनु पर्ने हुदा ५ दिन भन्दा अरु थप दिन थिएन। सुजितको पनि अफिसमा काम भएकोले यात्रा ५ दिनमै सक्नु पर्ने भन्दै थिए। साथी निमेसले सेर्को रिबाट अझै राम्रो दृश्य देखिने भन्दै थिए।

केञ्जिङ्ग रि I मा म

जिन्दगी होस् या हिमाल। चढ्न भन्दा झर्न निकै सजिलो र छिटो हुन्छ।म करिब ४५ मिनेटमा तल झरे र होटेल साहुजी सँग समसामयिक विषयमा गफ गरेर केही बेर बिताए। होटेलका मालिकहरु विदेशीहरु लाई प्रवेश नदिने सरकारको निर्णयको प्रत्यक्ष असर परेर होला कोरोना बारे केहि त्रसित देखिन्थे। होटेल साहु सँग केही बेर कोरोना गफ गरेपछि सुजित आए। माथी पुगि सकेपछि किन बस्नु भनेर लाङटाङ गाउँ फर्किने सोच बनायौ। होटेल मा बसेका दुई युरोपेली भने अझै केही दिन बसेर फर्किने भन्दै माथि डाँडा तिरको हिम ताल (Langtang Lirung Glacier+Unnamed Lake) हेर्न जाने तालिका बनाउदै थिए।

करिब ३ बजेतिर हामी फर्कियौ। फर्किदा चिज उत्पादन गर्ने फार्ममा पस्यौ। केहि चिज किन्यौ। अहिलेको कोरोन भाइरसको कारणले पर्यटकको संख्या घट्दा चिज स्टक धेरै बढेको भनेर कर्मचारीले बताए।

चिज फार्मको स्टग चिज

हामी करिब ६ बजे तिर लाङटाङ पुग्यौ। हामी पुग्न लाग्दा हल्का पानीले भिजायो। खाना खाई केहि बेर होटेलमा बसिरहेका हङकङका २ पर्यटकहरुसंग गफ गरेर सुत्यौ।

Day 4: Langtang — Rimiche — Bamboo — Domen — Syafrubeshi

चौथो दिन करिब ७:३० मा हल्का परिरहेको हिउ बीच यात्रा सुरु गर्यौ। बेलुका स्याप्रु पुग्ने हाम्रो लक्ष्य थियो। तेही अनुसार हिडेका हामी करिब ९ बजे घोडा तबेला पुग्यौ। घोडा तबेलासम्मको यात्रा हल्का हिउको फुरफुर बीच गरेका थियौ। बाटो, रुख, घर लगायत सबै हिउले ढाकिदा सेतै हुन पुगेको थियो। पाइलाहरु हिउँमा चल्दै गर्दा ओठले भने आभास (पलेटी) ले गाएको “हिउँमा लेखिएका नामहरु” गुनगुनाउदै थियो।

“हिउमा लेखिएका नामहरु” by तिर्थ श्रेष्ठ
लाङटाङ बाट फर्किदै गर्दा
बाटोमा हिउमा ढाकिएको चौरीको बाछ्छी

घोडा तबेलामा चिया खाएर हिड्न थाल्दा फुरफुरे हिउ पानी मा परिवर्तित भएको थियो। हामी करिब ११:३० मा लामा होटेल पुगेर खाना खायौ (सादा खाना ४००/-) र फेरी यात्रालाई निरन्तरता दियौ।

रात भरको हिउले ढाकिएको घरको छाना

बेलुकासम्म स्याप्रुबेशी पुग्ने भनेका हामी होटेल साहुको तल रिजभ गाडी लिएर आजै काठमाडौँ पुग्न सकिने कुराले आकर्षित भयौ। र हामी भन्दा पछि आएका दुइ पदयात्रीहरुसंग मिलेर सकेसम्म आजै काठमाडौँ पुग्ने गरि समुह बनायौ। तर हामी हिड्दै गर्दा गाडीले अर्को समुह लिएर काठमाडौँ गएछ। हामी करिब ३:३० तिर दोमन पुग्यौ र केहीबेर आराम गरि ५ बजे तिर स्याप्रुबेशी पुगी आराम (सादा खाना २२०, कोठा ३००) गर्यौ। यहाँबाट रसुवागढी करिब १ घण्टा को बाटोमा पर्ने रहिछ। चिनसंग सिमाना नजोडिएका जिल्लाबाट नागरिकता लिएका व्यक्तिहरुको लागि चिन जान भिसा चाहिने कुरा थाहा पायौ होटेल साहुनीबाट।

Yak on the snow
on the way

Day 5: Syafru Beshi — Kathmandu

पाचौ दिन बिहान ६:३० मा खाजा खाई काठमाडौँको लागि गाडी (AC Delux, भाडा ७६०) चढ्यौ।भैसेमा खाना खान (सादा खाना १५०) रोकेको गाडी दिउसो २:३० तिर काठमाडौँ पुग्यो।

हाम्रो यो यात्रा भरि OsmAnd app ले सहि बाटो पहिल्याउन धेरै नै सहयोग गरेको थियो। लाङटाङबाट हिमाललाई दायाँ बायाँ राखेर, नदिको आवाजमा आफ्ना पाइला मिलाई अघि बढ्दा अंग अंगमा छुट्टै शक्ति संचारको महसुस हुन्थ्यो। काठमाडौं नजिकको यस्तो राम्रो ठाउँमा आउन यति ढिला गरेकोमा एउटा मन थकथक गरेको थियो भने अर्को मन ढिलै भएपनि आएकोमा दंग थियो। मलाई आशा छ तिमीले आफ्नो यात्रामा भरपूर आनन्द लिनेछेउ।

उही तिम्रो शुभचिन्तक,

नारायण

Mountain on east side on Kyangjin Gompa Village

* “मैले देखेको नेपाल” — हर्क गुरुङ
pp — price per person

छुटाएको ठाउँ/बाटो

Upper langtang valley

Tserko Ri

Ganja la Pass (एक दिन टेन्ट मा बस्न पर्ने)

महत्वपूर्ण सम्पर्क नम्बरहरु

Dhomen River View Guest House, Domen (9741414808, 9803410393, 9823779348)

Everest Guest House, Kyangijn Gumpa (016924518, 9745169777, 9803223206)

A/C Deluxe Bus Ticket, Machha Pokhari (01–4356342/9841083788) Trisuli Counter (010–561098/9841573244)

लाङटाङ वरिपरिका केहि हिमालहरु (घट्दो उचाइमा क्रमवद्द, माथि र यहाँ को उचाई २ भिन्न भिन्न स्रोत बाट साभार गर्दा केहि फरक पर्न गएको छ। आधिकारिक स्रोतबाट सत्य जानकारी आएपछि फेरी अध्यावधिक गर्नेछु।)

Langtang Lirung 7234 m
Dorje Lakpa 6,966 m
Loenpo Gang 6,979 m
Changbu 6,781 m
Yansa Tsenji 6,690 m
Kyunga Ri 6,601 m
Dogpache 6,562 m
Langshisha Ri 6,427 m
Gangchenpo 6,387 m
Morimoto 6,150 m
Tsogaka 5,846 m
Yala Peak 5,520 m

Mountain list from www.upeverest.com/langtang/mountains-peaks-and-lakes-of-langtang-region

Sign up to discover human stories that deepen your understanding of the world.

Free

Distraction-free reading. No ads.

Organize your knowledge with lists and highlights.

Tell your story. Find your audience.

Membership

Read member-only stories

Support writers you read most

Earn money for your writing

Listen to audio narrations

Read offline with the Medium app

No responses yet

Write a response